विगतको सरकारको कारण मुलुकमा केही आर्थिक समस्या उत्पन्न भएको– पूर्वप्रधानमन्त्री खनाल — OSNepal

विगतको सरकारको कारण मुलुकमा केही आर्थिक समस्या उत्पन्न भएको– पूर्वप्रधानमन्त्री खनाल

LC (KTM) April 12, 2022 0

मोरङ, २९ चैत – पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत (समाजवादी)का नेता झलनाथ खनालले विगतको सरकारको कारण मुलुकमा आर्थिक समस्या उत्पन्न भएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले भन्नुभयो, “यसअघिका सरकारका कारण अहिले मुलुकमा आर्थिक समस्या देखापरेको छ । तर चरम आर्थिक सङ्कट भने आइसकेको छैन् ।”

पूर्वप्रधानमन्त्री खनालले स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा हुने भन्दै निर्वाचन सर्ने हल्लामा कुनै सत्यता नरहेको बताउनुभयो । उहाँले वर्तमान स्थितिमा मुलुकलाई गठबन्धन आवश्यक रहेको उल्लेख गर्दै केन्द्रदेखि स्थानीय स्तरमा गठबन्धन गरी निर्वाचनमा जाने बताउनुभयो । उहाँले मुलुकलाई सही दिशामा ल्याउन सत्ता गठबन्धन आवश्यक रहेको चर्चागर्दै आगामी निर्वाचनमा सत्तामा रहेका दलहरुबीच गठबन्धन गरेर अघि बढ्नु अहिलेको आवश्यकता हो भन्नुभयो । नेता खनालले स्थानीय तहको निर्वाचनका लागि केन्द्रीयस्तरमा उच्च स्तरीय गठबन्धन कमिटीले गठन गरेर मार्गदर्शन तयार गर्ने र सोही अनुसार जिल्ला र क्षेत्रमा स्थानीय तहमा गठबन्धनका विषयमा निर्णय गर्ने बताउनुभयो ।

पूर्वप्रधानमन्त्री खनालले निर्वाचनका लागि बन्ने गठबन्धन र तालमेल एउटै भएको प्रस्ट पार्नुभयो । उहाँले केन्द्रीय स्तरमा गठबन्धनबीच आपसी निर्णय गरी महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवारको घोषणा हुने भन्दै नेकपा एकीकृत समाजवादीले कति महानगरपालिकामा प्रमुख, उपप्रमुखको उम्मेदवार दिने सम्बन्धमा गठबन्धन दलबीच छलफलपछि निर्णय हुने जानकारी दिनुभयो ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर