भूकम्प स्मृति दिवसका अवसरमा मैतीदेवीमा गरियो क्षमा पूजा — OSNepal

भूकम्प स्मृति दिवसका अवसरमा मैतीदेवीमा गरियो क्षमा पूजा

LC (KTM) April 25, 2022 0

काठमाडौँ, १२ वैशाख- भूकम्प स्मृति दिवसका अवसरमा काठमाडौँ महानगरपालिका–३० स्थित मैतीदेवी मन्दिर परिसरमा क्षमा पूजा गरिएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले मन्दिर नित्य पूजा आराधनामा प्रभाव पारेकाले क्षमा माग्दै पूजा आराधनाको सुरुआत गरिएको पुजारी तीर्थज्योति बज्राचार्यले राससलाई जानकारी दिनुभयो । अब यस्तो विपत्ति नआओस् भनेरसमेत देवीसँग प्रार्थना गरिएको उहाँले सुनाउनुभयो । विगतमा मैतीदेवी मन्दिर क्षेत्र प्रबन्ध समितिले नर्सरीलाई भाडामा दिएको करिब दुई रोपनी जग्गामा भूकम्पजस्ता प्राकृतिक प्रकोपका बेला सुरक्षित रुपमा बस्न सकिने र अरू बेलामा पनि मानिसले पुनर्ताजगीका लागि उपयोग गर्नसक्ने गरी बगैँचा बनाउने अभियानसमेत यहाँ थालिएको छ ।

बगैँचा बनाउन काठमाडौँ महानगरपालिकाले रु एक करोड ३५ लाख बजेट विनियोजन गरेको वडा नं ३० का निवर्तमान अध्यक्ष दलबहादुर कार्कीले राससलाई जानकारी दिनुभयो । मन्दिर परिसरमा आकर्षक बगैँचा निर्माणसँगै रेलिङ, बार पनि परिवर्तन गरिने छ ।बगैँचाको काम सुरु गर्न गत आर्थिक वर्षमा रु ५० लाख बजेट विनियोजन गरेकामा त्यसबाट काम हुन नसकेको उहाँले सुनाउनुभयो । विसं २०७४ अघि सहरी विकास तथा भवन निर्माण विभागले गठन गरेको प्रबन्ध समितिले मन्दिर क्षेत्र व्यवस्थापनको काम गर्दै आएको थियो । त्यसबेला जनअपेक्षा अनुरुप काम हुन नसकेको गुनासो बढ्ने गरेको थियो ।

विसं २०७४ मा स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएसँगै प्रबन्ध समिति महानगरपालिकालाई हस्तान्तरण गरिएको थियो । मन्दिर क्षेत्रमा धोबीखोला मैतीदेवी छुट गुठीका नाममा पहिले करिब ३० रोपनी जग्गा भए पनि हाल दुई रोपनीमात्र बाँकी छ । बाँकी भएको जग्गालाई महानगरपालिकाले बगैँचा निर्माण गरेर संरक्षण गर्न लागेको महानगरपालिकाले जनाएको छ । बगैँचाको डिजाइन(नमुना) बनाउने काम सम्पन्न गरिएको छ । ठेक्कामार्फत काममा ढिलाइ हुने भएपछि उपभोक्ता समितिमार्फत काम गर्न लागिएको समितिका सदस्य¬–सचिव सुरेन्द्र श्रेष्ठले बताउनुभयो ।

महानगरपालिकाको वडा नं ९, २९ र ३० मा मन्दिरका नामको राजगुठीको जग्गा रहेको छ । वडा नं ९ को जग्गा खाली छ । वडा नं २९ र ३० को जग्गामा भने घर बनिसकेको गुठीका गुठियार नाइके सत्य मुनिकारले बताउनुभयो । वडा नं ९ खाली जग्गामा पनि मोहीहरूका बीचमा मुद्दा चलिरहेको छ । मन्दिर क्षेत्रको जग्गा संरक्षण गर्ने उद्देश्यले महानगरपालिकाले बगैँचा निर्माण प्रक्रिया सुरु गरेको हो । अरु जग्गालाई पनि मन्दिर मातहत ल्याउँदै जाने समितिको प्रतिबद्धता छ । मन्दिर परिसरमा पुरातत्व विभागले तामाको छाना राखेर सांस्कृतिक पाटी निर्माण सम्पन्न गरेको छ । पाटीसँगै पुजारी घर पनि निर्माण भइरहेको समितिले जनाएको छ । मन्दिर परिसरमा रहेको मयुर कुण्ड पनि संरक्षण गर्न लागिएको समितिको अध्यक्षसमेत रहनुभएका कार्कीले बताउनुभयो । मयुर कुण्डभित्र रहको नाग र नागिनीको मूर्ति पनि भक्तजनले दर्शन एवं पूजा आराधना गर्नसक्ने गरी व्यवस्थापनको तयारी भएको छ ।

गोरखा मनकामनाको आमा मैतीदेवी
गोरखास्थित मनकामना माईको दर्शन गरेर फर्कने भक्तजनले मयुरकुण्डको जल मैतीदेवीलाइ चढाएपछि मात्र फल मिल्ने किम्बदन्ती प्रचलनमा छ । मनकामना पूरा गर्न यो विधि पूरा गर्नुपर्ने भएपछि यो धेरैलाई थाहा नभएको पुजारी बज्राचार्यले सुनाउनुभयो । थाहा हुनेहरूले यसको पालना गर्छन् । मनकामनालगायत धेरै देवीको आमाका रुपमा मैतीदेवीलाई सम्मान गरिने भएकाले नै मैतीदेवी नामकरण भएको उहाँले सुनाउनुभयो ।
मैतीदेवी क्षेत्रमा सहरीकरण हुनुअघि राजकुलो यहाँबाट पुतलीबजार पुगेको थियो । राजकुलाको यो जग्गा मैतीदेवी प्रहरी बिटबाट नै मिचिएको छ । यस क्षेत्रका नौ दशवटा सटरको आधा भागमा सार्वजनिक जग्गा पर्ने वडा कार्यालयले जनाएको छ । मन्दिरको नाममा रहेको गुठी जग्गामा आकर्षक बगैँचा निर्माण गर्न समितिसहित स्थानीयवासी पनि लागिपरेको जनाइएको छ । साथै मिचिएको मन्दिरका नामको जग्गाको पनि खोजी सुरु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर