दोस्राे कार्यकालका लागि मैदानमा उत्रिएका अर्घाखाँचीका चार अनुहार — OSNepal

दोस्राे कार्यकालका लागि मैदानमा उत्रिएका अर्घाखाँचीका चार अनुहार

LC (KTM) April 26, 2022 0

अर्घाखाँची-अर्घाखाँचीमा स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्तासँगै चुनावी माहाेल तीव्र बनेको छ । सत्तापक्षीय गठबन्धन र नेकपा एमालेबीच मुख्य प्रतिस्पर्धा हुने देखिएकाे छ ।

६ वटा स्थानीय तह रहेको अर्घाखाँचीमा अघिल्लाे पटक नेतृत्व गरिसकेका चार जनप्रतिनिधि राजिनामा दिएर फेरि उम्मेदवार बनेका छन् ।

१. रेशम थापा : थापाले भूमिकास्थान नगरपालिका मेयरमा एमालेबाट उम्मेदवारी दिएका छन् । अघिल्लाे पटक कांग्रेसको सहयोगमा माओवादी केन्द्रबाट मेयर बनेका थापालाई यो पटक एमालेले उम्मेदवार बनाएकाे हाे । उनले यो पटक गठबन्धन पक्षबाट राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्यसमेत रहेका झविलाल थापाको सामना गर्नुपर्ने छ ।

२. अच्युत गौतम : पाणिनी गाउँपालिका अध्यक्ष बनिसकेका गाैतमले फेरि उम्मेदवारी दिएका छन् । कांग्रेसका जिल्ला सचिवसमेत रहेका गौतमले यो पटक एमालेका नेता टेकराज न्यौपानेसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

३. टीका रेश्मी : शितगंगा नगरपालिका उपमेयर बनिसकेका रेश्मी नेकपा माओवादीबाट फेरि उपमेयरमा उम्मेदवार बनेका छन् । नेकपा माओवादी केन्द्रका तत्कालीन नेता टोपबहादुर रायमाझी, चन्द्रबहादुर खड्कासहितका नेताले एमाले रोज्दा रेश्मीलाई यो पटक माओवादी केन्द्रले पुन: टिकट दिएकाे हाे । गठबन्धनको साथ पाएका नेता रेश्मीले यो पटक नेकपा एमालेकी गीता भाटसँग प्रतिस्पर्धा गर्नुपर्ने छ ।

४. लक्ष्मी गौतम : एमालेबाट फाणिनी गाउँपालिकामा निर्वाचित भई एक कार्यकाल पूरा गरेकी गौगमले दोस्रो कार्यकालका लागि पनि पुन: उम्मेदवार बनेकी छन् । उनी अघिल्लाे पटक एमालेबाट उपाध्यक्ष बनेकी थिइन् ।

तर, उनले बीचमा एमाले परित्याग गरी नेकपा एकीकृत समाजवादी हुँदै काँग्रेस प्रवेश गरेकी थिइन् । अहिले गौतमलाई कांग्रेसले दोस्रो कार्यकालका लागि उपाध्यक्षमा टिकट दिएको हो । गौतमले एमालेकी नेतृ नर्मदा पौडेलसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर