विविध भाषाभाषी बौद्ध कवि गोष्ठी सम्पन्न — OSNepal

विविध भाषाभाषी बौद्ध कवि गोष्ठी सम्पन्न

LC (KTM) May 07, 2022 0

काठमाडौँ, वैशाख २४ । २५६६औँ बुद्ध जयन्ती समारोहको उपलक्ष्यमा विविध भाषाभाषी बौद्ध कवि गोष्ठी सम्पन्न भएको छ ।विश्व शान्ति विहार बौद्ध कवि गोष्ठी उप–समितिको आयोजनामा सम्पन्न कार्यक्रम विश्व शान्ति विहार भिक्षु बोधीज्ञान महास्थरविरको सभापतित्व तथा पूर्व मन्त्री एवम् वरिष्ठ साहित्यिकार दिनबन्धु अर्यालको प्रमुख आतिथ्यतामा बानेश्वर शान्तिनगरस्थित बिहार परिसरमा गत शुक्रबार सम्पन्न भएको हो ।

प्रमुख अतिथि दिनबन्धु अर्यालले यस्ता किसिमका कार्यक्रम आयोजना बुद्ध धर्म र दर्शनका बारेमा अझ बढी जान्न र बुद्ध थप टेवा पुग्ने विश्वास गर्दै आयोजकलाई धन्यवाद दिनुभयो । उहाँले बुद्ध दर्शन र ज्ञान अध्ययन गरी कहिल्यै नसकिने बताउँदै भगवान् बुद्धले दिनुभएको सन्देशबाट जीवन परिवर्तन गर्दै लैजान सबैलाई अनुरोध गर्नुभयो ।

बौद्ध धर्म तथा संस्कृतिलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ विगत ५–६ दशकअघिबाटै यो कार्यक्रमको थालनी गरिएको र यसैलाई अझै निरन्तरता दिइरहन पाउँदा आफूलाई खुशी लागेको बौद्ध कवि गोष्ठी उपसमितिको संयोजक प्राध्यापक बेटी बज्राचार्यले बताउनुभयो । उहाँले साहित्यका माध्यमबाट भगवान् गौतमबुद्धले हामीमाझ छोडेर जानुभएका राम्रा विचार र मार्गदर्शनलाई अभिव्यक्त गर्दै आउँदा पुस्ताहरूलाई समेत सत्मार्गतर्फ लम्किन उत्प्रेरित गर्ने अभियानमा हामी हिजोदेखि आजसम्म लागिपरेको स्मरण गर्दै भोलि पनि निरन्तर रुपमा क्रियाशील भइ लागिरहने प्रतिवद्धता समेत जनाउनुभयो ।

उक्त कवि गोष्ठीमा विनुबाबा घिमिरे, अनुराधा थापा, दयामुनि बज्राचार्य, यशु बज्राचार्य, विजयध्वज थापा, निर्मलरमण पराजुली, वीणा सिन्हा, निभा मल्लिक, मुकुन्द अर्याल, रबिना बस्नेत, मदनकृष्ण सिलवाल लगायत डेढ दर्शनभन्दा बढी कवि–कवियित्रीहरूले आ–आफ्नो रचना वाचन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर