ऐंसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’ भलिबल प्रतियोगिता आजदेखि — OSNepal

ऐंसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’ भलिबल प्रतियोगिता आजदेखि

LC (KTM) May 08, 2024 0

खोटाङ- खेलकुद विकास समिति ऐंसेलुखर्क गाउँपालिकाले आयोजना गर्न लागेको ‘ऐंसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’ महिला/पुरुष अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ । वैशाख २६ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले   पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।

प्रतियोगितामा महिलातर्फ चार तथा पुरुषतर्फ १५ वटा समूहले सहभागिता जनाएको आयोजक खेलकुद विकास समिति ऐंसेलुखर्क गाउँपालिका अध्यक्ष रजिन राईले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना प्राप्त दुवै विधाका स्थानीय तहले क्रमशः रु दुई लाख, रु एक लाख, रु ५० हजार र रु २५ हजार नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताको महिलातर्फ आयोजक, आमचोक गाउँपालिका भोजपुर, माप्यदूधकोशी सोलुखुम्बू र केपिसगढी गाउँपालिका बाक्सिला खोटाङ सहभागी भएका छन् । पुरुषतर्फ आयोजक, षडानन्द नगरपालिका भोजपुर, नेचासल्यान गाउँपालिका सोलुखुम्बु, दमक नगरपालिका झापा, सोताङ गाउँपालिका सोलुखुम्बु, चिसङ्खुगढी गाउँपालिका ओखलढुङ्गा, ताप्ली गाउँपालिका उदयपुर, सिद्धिचरण नगरपालिका ओखलढुङ्गा, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङ सहभागी छन् ।

त्यसैगरी रावाबेँसी गाउँपालिका खोटाङ, हलेसी तुवाचुङ नगरपालिका खोटाङ, ऐंसेलुखर्क गाउँपालिका-४ जलेश्वरी, ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरी, ऐलुखर्क गाउँपालिका–७ माक्पा र खेलकुद विकास समिति एेंसेलुखर्क–३ ऐलुखर्कको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिता अन्तर्राष्ट्रिय भलिबल महासङ्घ (एफआइभिवी)को नियमअनुसार सञ्चालन हुने आयोजकले जनाएको छ ।गाउँपालिकामा भलिबल खेलको विकास गर्दै प्रतिभाशाली खेलाडी उत्पादन गर्ने उद्देश्यले गाउँपालिकाको आर्थिक सहयोग तथा खेलकुद विकास समितिको व्यवस्थापनमा प्रतियोगिता गर्न लागिएको गाउँपालिका प्रमुख गीरेन्द्रबहादुर राईले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर