भेन्टिलेटरमा साथी – OSNepal

भेन्टिलेटरमा साथी

Osnepal Admin (KTM) May 09, 2022 0

रामदेव पाण्डे

कोभिड–१९ महामारीको बेला थियो । एक दिन मित्रको मोबाइलमा फोन गरेँ । पाँचौँ पटकको प्रयासमा सफलता मिल्यो । बल्ल बल्ल फोन उठ्यो । साथी हेलो भन्नुअगाडि ख्वाङ ख्वाङ दुई पटक खोक्यो, एकछिन रोक्यो । मैले फेरि आवाज दिएँ, “बिसन्चो छ कि क्या हो मित्र ? नजिकै आएको थिएँ म, आऊँ कि भित्र ?”उसले फेरि एक पटक खोकेर बिस्तारै ‘हेलो’ भन्यो । “हो, मलाई कोरोना भएछ । यसो बाहिर गएको थिएँ कतिबेला समाएछ ! डाक्टरले कम बोल्न भनेको छ । आज तेस्रो दिन हो ।”

मैले भनेँ, “ओहो मित्र ! लौ मारेछ, गाह्रो पारेछ । ठिक छ, ख्याल गर्नुहोस्, आराम गरेर घरमै बस्नुहोस् । बेला बेला बाफ लिनुहोला, झोलिलो चिज अलि धेरै खानुहोला !”ठ्याक्कै सात दिनभित्र फर्काउने भन्दै सापटी लगेका मान्छे वाचाकै दिन नआउनुको कारण बल्ल थाहा भयो । अन्तैबाट एक सातालाई भन्दै आफैले खोजिदिएकाले डाहा भयो । कस्तो अचम्म ! सातौँ दिनदेखि नै कोरोना भएछ, अझै एक दिन पर्खन मरेनछ । कोरोनालाई सराप्दै फर्केँ । जहानसित बित्थैमा झर्केँ ।

सापटी खोजिलिएका साथीलाई साँझपख रेस्टुरेन्टमा बोलाएँ । यसो खानपिन गराई फकाएँ । रेस्टुरेन्टबाट हिँड्नै लाग्दा अचम्म भयो । नजिकैको क्याबिनबाट चिनेचिनेको आवाज आयो । ध्यान दिएँ, हो रहेछ । त्यहाँ त त्यही आज बिहानै कोरोनाले सिकिस्त साथी रहेछ । उसका टेबलमा रेड लेबलको बोतलसँगै सिङ्गो तन्दुरी चिकन रहेछ । दुई जना तरुनी चेलीहरूसँग थियो । भर्खरै केही भन्नु अनुचित ठानेँ र मोबाइलमा सुटुक्क फोटो हानेँ ।

घरमा आएँ । राति मेसेन्जरमा मेसेज पठाएँ, “कस्तो छ साथी स्वास्थ्य अहिले ? बोल्न नमिल्ला भनी मेसेज गरेँ ।”उताबाट जवाफ आइहाल्यो, “सास फेर्न अलि अप्ठ्यारो अप्ठ्यारो भा,छ । खोकी ला,छ । ज्वरो पनि आ,छ । भर्नै गराउँछ कि जस्तो लाइरा,छ ।”रिस त टुप्पीसम्म उठ्यो तैपनि संयमित भएँ । अघि खिचेको फोटो मेसेजमा पठाएँ र लेखेँ, “डाइट राम्रोसँग खानू, नटुटाउनु बेसार पानी र ज्वानु । थप गाह्रो नहोस् शुभकामना, शीघ्रातिशीघ्र स्वास्थ्य लाभको कामना !”आज तेस्रो हप्ता हो । त्यसपछि लगत्तै स्विच अफ भएको साथीको मोबाइल र फेसबुक अझै बन्द छ । साथी भेन्टिलेटरमा गएको आशङ्का छ । हार्दिक श्रद्धाञ्जली लेख्नु नपरोस्, एकतर्फी शुभकामना !

Leave a Reply

Your email address will not be published.