मनाङमा सिसी क्यामेरासहित मतगणनास्थल तयार — OSNepal

मनाङमा सिसी क्यामेरासहित मतगणनास्थल तयार

LC (KTM) May 12, 2022 0

मनाङ- शुक्रबार हुने स्थानीय तह निर्वाचनको मतदानपछि मत गणनाको लागि मतगणनास्थललाई सुरक्षित र व्यवस्थित बनाइएको छ । चारवटै पालिकामा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयले सुरक्षित तवरबाट मतगणना गर्न सहज बनाउने उद्देश्यले मतगणनास्थल तयार पारिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । स्वच्छ, निष्पक्ष र धाँधलीरहित वातावरणमा मत गणना गर्न स्थलको निर्माण गरिएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश पुनाराम खनालले जानकारी दिनुभयो । सदरमुकामस्थित चामे गाउँपालिकाको मतगणना मनाङ जिल्ला अदालतको कार्यालयमा गणना गरिने उहाँले बताउनुभयो ।

पालिकाले मतगणनाका लागि स्थलको सुरक्षित तवरबाट तयारी गरिएको मुख्य निर्वाचन खनालले जानकारी दिनुभयो । उहाँका अनुसार मतगणनाका लागि सुरक्षित र सहज हुने गरी सम्पूर्ण तवरबाट व्यवस्थापन गरिएको छ । “मतगणनाका लागि मतगणनास्थललाई सुरक्षित बनाइएको छ”, उहाँले भन्नुभयो, “सबैको चित्तबुझ्दो तवरबाट मतगणनास्थलको व्यवस्थापन गरिएको छ ।” छिटो मतगणना सम्पन्न गर्ने गरी गणनाको व्यवस्थापन गरिएको उहाँले बताउनुभयो । “मतगणनास्थललाई कसरी व्यवस्थित, स्वच्छ, निष्पक्ष सौहार्दपूर्ण वातावरणमा सम्पन्न गराउने भन्नेतर्फ प्रतिबद्ध छौँ, आयोगको निर्देशनबमोजिम नै व्यवस्थित मतगणनास्थल निर्माण गरेका छौँ”, उहाँले भन्नुभयो ।

एक÷दुई दिनमा मतगणना सम्पन्न गर्ने गरी व्यवस्थापन गरिएको उहाँको भनाइ छ । मुख्य निर्वाचनसहित जिल्लाका सबै पालिकामा मतगणना स्थलको व्यवस्थापन गरिएको छ । मतगणनास्थलको सम्पूर्ण तयारी पूरा भएको छ । मनाङ ङिस्याङ गाउँपालिकाको हुम्देस्थित गाउँपालिकाको भवनमा मतगणना गरिने जिल्ला निर्वाचन कार्यालयका प्रमुख पुष्पलाल शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार नासोँ गाउँपालिकाको पालिका भवन धारापानीमा मतगणना गरिनेछ भने नार्पाभूमि गाउँपालिकाको पालिका भवन च्याखुमा मतगणना गरिने उहाँले बताउनुभयो । जिल्लाका सबै पालिकाको मतगणनास्थल निर्माण गरिएको उहाँले बताउनुभयो । सिसी क्यामेरासहित मतगणनास्थलमा तारबार गरिएको छ । बारभन्दा बाहिर उम्मेदवारका प्रतिनिधि बस्ने, गणना गरी सुनाउन माइकिङको व्यवस्था, मतगणनास्थलमा कडा सुरक्षा व्यवस्था गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

पुग्यो नार्पाभूमिमा निर्वाचन सामग्री
तिब्बतको सिमाना जोडिएको नार्पाभूमि गाउँपालिकामा पैदलयात्रामार्फत निर्वाचन सामग्री पुगेको छ । सडक सञ्जालसँग नजोडिएको नार्पाभूमि गाउँपालिकामा दुई दिनको पैदलयात्राबाट निर्वाचन सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी मतदान केन्द्रमा पुगेका छन् ।

अति दुर्गम क्षेत्रको रुपमा परिचित नार्पाभूमिमा निर्वाचनका सामग्री बोकेर कर्मचारी र सुरक्षाकर्मी मतदान स्थल पुगेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार सोमबार बिहान जिल्ला सदरमुकाम चामेबाट हिँडेका कर्मचारी मङ्गलबार साँझ मात्रै मतदान केन्द्रमा पुगेका हुन् । उनीहरुले मतदान केन्द्रमा सूचना टाँस गर्ने, चारकिल्ला तोक्नेलगायतका गतिविधि गरी मतदानको तयारीमा जुटेका छन् ।

जिल्लाका चारवटै स्थानिय तहका मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित कर्मचारी पुगेको जिल्ला निर्वाचन कार्यालय मनाङका निर्वाचन अधिकारी पुष्पराज शर्माले बताउनुभयो । मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यका अनुसार मनाङको नार्पाभूमिको पाँच मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित कर्मचारी पुगेका छन् । स्थानीय तहको निर्वाचनका लागि मनाङमा २०० बढी कर्मचारी र ७०० बढी सुरक्षाकर्मी खटाइएको छ ।

निर्वाचनका लागि मनाङमा २८ मतदान केन्द्र कायम भएको छ । जिल्लामा नासोँ र मनाङ ङिस्याङ गाउँपालिकामा नौ–नौ मतदान केन्द्र, चामे र नार्पाभूमि गाउँपालिकामा पाँच मतदान केन्द्र कायम भएको छ । जिल्लामा छ हजार ४९६ मतदाता छन् । ती मध्ये महिला तीन हजार ३४८ र पुरुष तीन हजार १४८ छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर