उदयपुरका ६ पालिका प्रमुखद्वारा एकै पटक पदभार ग्रहण — OSNepal

उदयपुरका ६ पालिका प्रमुखद्वारा एकै पटक पदभार ग्रहण

LC (KTM) May 26, 2022 0

उदयपुर, १२ जेठ:

उदयपुरका निर्वाचित नगर प्रमुख तथा अध्यक्षले एकै पटक पदभार ग्रहण गरेका छन् । उदयपुरको ताप्ली गाउँपालिका, लिम्चुङबुङ गाउँपालिका, उदयपुरगढी गाउँपालिका, रौतामाई गाउँपालिका, बेलका नगरपालिका र चौदण्डीगढी नगरपालिकामा निर्वाचित नगर प्रमुख तथा अध्यक्षले पदभार ग्रहण गरेका हुन् ।

रौतामाईका नवनिर्वाचित अध्यक्ष वीरेन्द्रकुमार मगरले पालिकामा उपाध्यक्ष सहित कार्यपालिका सदस्यलाई पद तथा गोपनीयताको शपथ ग्रहणपछि पदबहाली गरेका हुन् । मगरले पदभार सम्हाल्दै उनले आफूले पाउने तलब लगाएका सेवा सुविधा नलिने घोषणा गरेका छन् । गठबन्धनबाट माओवादी केन्द्रका मगरले विजयी हासिल गरेका थिए ।

पदबहालीसँगै उनको पाँच वर्षे कार्यकाल सुरु भएको छ । पदबहालीको अवसरमा अध्यक्ष मगरले जनताको चाहना र भावना भन्दा टाढा नभई कार्यकाल सफल रूपले पुरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

त्यसैगरी लिम्चुङबुङका नवनिर्वाचित अध्यक्ष मेजरकुमार राईले पुन दोस्रो कार्यकालका लागि पदवहाली गरेका छन् । उदयपुरको पहाडी पालीका लिम्चुङबुङ गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष राईले दोस्रो कार्यकाल सम्हालेका छन् । राईले बुधबार कार्यालयमा पदवहाली गर्दै दोस्रो कार्यकालमा फर्केका छन् । राई ७४ सालको स्थानीय चुनावमा पनि विजयी भएर पहिलो कार्यकाल सफलतापूर्वक सम्पन्न गरी दाम्रो कार्यकालमा फर्केको हो । पदवहाली सँगै राईले विशेष रूपमा लिम्चुङबुङ गाउँपालिकामा शैक्षिक सुधार कार्यक्रम चरणबद्ध रूपमा लागू गर्ने प्रतिबद्धता जनाएको छ ।

पहिलो चरणमा गाउँपालिकाको ५ ओटा माविमा आधारभूत तहको गुणस्तरीय शिक्षा सुनिश्चितताको लागि बालविकास कक्षाहरूको भौतिक तथा शैक्षिक सुधार राईले पदबहालीको क्रममा जनाए । यस्तैगरी लिम्चुङबुङ गाउँपालिकाको सुनकोशी किनारामा अध्यक्ष कृषि परियोजना अन्तर्गत सुनकोशी तटीय क्षेत्रहरूमा व्यावसायिक कृषि कार्यक्रम सञ्चालन गरिनेछ पनि विशेष रूपमा गरिने जनाए । उद्यम कोषको स्थापना गरेर एक घर एक उद्यमी कार्यक्रम लागू गर्ने राईले जनाए । राईले यीसँगै पालिकाको समग्र विकासका लागि एमं प्रकारका कार्यक्रम सञ्चालन गर्ने जनाए । राईले पदबहाली गर्नु पूर्व उपाध्यक्ष सहित नवनिर्वाचित सबैलाई शपथ ग्रहण गराई पदबहाली गरेका हुन् ।

त्यसैगरी जनताका काममा सबै एक जुट हुन उदयपुरगढीमा नवनिर्वाचित अध्यक्ष मानबहादुर केप्छाकी मगरले बताए । उदयपुरगढी गाउँपालिकामा नवनिर्वाचित अध्यक्ष तथा उपाध्यक्षले पदभार ग्रहण गर्दै जनताकामा सबै जनप्रतिनिधिहरू र कर्मचारी एक जुट हुन आव्हान गरे । पदभार ग्रहण गर्दै अध्यक्ष मानबहादुर केप्छाकी मगर र उपाध्यक्ष जितबहादुर खड्काले उदयपुरगढीको सम्बृद्धिको लागि एक भएर अघि बढ्नु पर्नेमा जोड दिए ।

पदभार ग्रहण गर्दै अध्यक्ष मगरले भने, ‘हामीले जनताका समस्यालाई सबैले हाम्रो समस्या मानेर काम गर्नु पर्छ । यहाँ हामी कर्मचारी र जनप्रतिनिधिहरू सबै एक भएर काम गर्नु पर्ने अवस्था आएको छ । यसैगरी उपाध्यक्ष खड्काले जनताको सेवक भन्ने भावबाट काम सुरु गर्नु पर्ने बताए । ‘हामी सबैको साझा हुनु पर्छ, हामी हिजो जहाँ जहाँ भए पनि आज जनताको सेवा गर्ने ठाउँमा आइपुगेका छौँ । जनताको जुन सेवा गछौँ, भनेर प्रतिबद्धता व्यक्त गरेका छौँ । त्यो पूरा गर्नुपर्छ ।’

यसैगरी प्रमुख प्रशासकीय अधिकृत रमेश राईले नवनिर्वाचितहरूलाई स्वागत गर्दै गाउँपालिकालाई सबै साझा थलोको रूपमा अघि बढाउनु पर्ने बताए । अध्यक्ष मगरले गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिहरूलाई पदीय गोपनीयताको शपथ ग्रहण गराएका थिए । गाउँपालिकामा जम्मा ४२ जना नवनिर्वाचित जनप्रतिनिधिहरू छन् । जसमा अध्यक्ष मगरले उपाध्यक्षसहित ८ जना वडाध्यक्ष र सदस्यहरूलाई शपथ खुवाउनु हुन् ।

बेलका नगरपालिकाका, चौदण्डीगढी नगरपालिका, बुधबार पदभार ग्रहण गरेको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले नगर उपप्रमुख जिरा राई सहित नवनिर्वाचित जनप्रतिनिधिहरूलाई शपथ ग्रहण गरी पदबहाली गरेका हुन् ।

त्यसैगरी चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले नगर उपप्रमुख मनिकादेवी दुलाल सहित नवनिर्वाचित जनप्रतिनिधिहरूलाई एक कार्यक्रमका बिच शपथ ग्रहण गराई पदबहाली गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर