धार्मिकस्थल व्यासगुफादेखि पर्यटकीयस्थल छिम्केश्वरीसम्म जोड्ने पदमार्ग निर्माण गर्ने — OSNepal

धार्मिकस्थल व्यासगुफादेखि पर्यटकीयस्थल छिम्केश्वरीसम्म जोड्ने पदमार्ग निर्माण गर्ने

LC (KTM) June 16, 2022 0

गण्डकी- गण्डकी प्रदेश सरकारले तनहुँको धार्मिकस्थल व्यासगुफादेखि पर्यटकीयस्थल छिम्केश्वरीसम्म जोड्ने पदमार्ग निर्माण गर्ने भएको छ । गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले बुधबार प्रदेशसभामा आगामी वर्ष २०७९÷८० को बजेट प्रस्तुत गर्दै व्यासगुफाबाट छिम्केश्वरीसम्म पदमार्ग निर्माणका लागि बजेट विनियोजन गरिएको उल्लेख गर्नुभयो ।

एक स्थानीय तहः एक प्रमुख पर्यटकीय पदमार्ग निर्माण गर्ने उद्देश्यअनुरुप व्यासगुफाबाट छाब्दी–कर्लुङ–रामकोट–बन्दीपुर–हिलेखर्क–छिम्केश्वरी पदमार्ग निर्माणका लागि बजेट विनियोजन गरिएको अर्थमन्त्री बरालले बताउनुभयो । सदरमुकाम दमौलीमा रहेको व्यासगुफामा नेपालका विभिन्न जिल्लाका अतिरिक्त भारतबाट समेत भक्तजन आउने गरेका छन् । महर्षि वेदव्यासको जन्मभूमि र जिल्लाकै अग्लो स्थानमा रहेको छिम्केश्वरीलाई पदमार्गबाट जोड्ने गरी सरकारले बजेट विनियोजन गर्नु सकारात्मक रहेको दमौली निवासी दिपक भट्टराईले बताउनुभयो ।

समुद्री सतहबाट दुई हजार १३४ मिटर उचाइमा अवस्थित आँबुखैरेनी गाउँपालिकास्थित छिम्केश्वरीमा पूजाआजाका लागि भक्तजन पुग्ने गरेका छन् । गोरखा मनकामनाकी दिदीका रूपमा पुजिँदै आएकी छिम्केश्वरीमाई मन्दिरमा पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ ।

सात देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केश्वरीमाई छिम्केश्वरीलेकमै अवस्थित छन् भने साइली गोरखा कालीमाई, काइली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाईलाई सोही स्थलबाट दृश्यावलोकनसहित दर्शन गर्न सकिन्छ । त्यस्तै दमौली अस्पताललाई समय सापेक्ष स्तरोन्नति गरी सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक बजेटको व्यवस्था गरिएको अर्थमन्त्री बरालले बताउनुभयो । उहाँका अनुसार दमौली अस्पतालबाट रगत तथा रक्तजन्य पदार्थ निःशुल्करूपमा उपलब्ध गराइनेछ ।

यस्तै सरकारले प्रदेशको गौरवको योजनाका रुपमा रहेको तनहुँको भिमाद–डेढगाउँ–झ्यालवास–चोरमारा–दुम्कीवास–त्रिवेणी सडकखण्ड, शालिग्राम करिडोरलगायतका सडक निर्माण कार्यलाई प्राथमिकताका साथ बजेट विनियोजन गरेको छ ।

उक्त सडकखण्डअन्तर्गत तनहुँको घिरिङ गाउँपालिकाको मानपुरबाट डेडगाउँ–बुलिङटार सडक कालोपत्रको काम अघिल्लो वर्षबाट सुरु भइसकेको छ । घिरिङदेखि नवलपुरको बुङ्दीकालीको सिमानासम्म एघार किलोमिटर सडक कालोपत्रका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत रु २२ करोड ८५ लाख ४१ हजार सात सय ९३ को लागतमा काम भइरहेको छ ।
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर