राप्रपा अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको कविता : मेच नछोड्नुस् — OSNepal

राप्रपा अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको कविता : मेच नछोड्नुस्

LC (KTM) June 17, 2021 0

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले एक कवितामार्फत सत्तालोलुप, आत्मकेन्द्रीत राजनीतिक चरित्रमाथि कटाक्ष गरेका छन् ।सत्तामा पुग्नुपर्छ र एक पटक सत्तामा पुगेपछि सधैं सत्तामै रहनुपर्छ भन्ने राजनीतिक प्रवृत्तिको अध्यक्ष लोहनीले ‘मेच नछोड्नुस्’ कवितामा चर्चा गरेका छन् ।

आदर्श, निष्ठा, नैतिकता सबै त्यागेर भए पनि आफू बाहेक अरुले अवसर पाउनु हुँदैन भन्ने आत्मकेन्द्रीत मनोवृत्तिप्रति उनको व्यङ्ग्य छ । सत्ता र कुर्सीको फाइदामा मात्र कुद्ने साँघुरो, संझौतापरस्त चरित्र र राजनीतिक पात्रले देश र जनतालाई बेवास्ता गरेको भन्ने कविताको सार छ । त्यसैले डा. लोहनी कवितामा भन्छन्, प्यान्ट च्यातिएर भ्वाङ्ग परे पनि मेच नछोड्नुस् ।

मेच नछोड्नुस्

मेच नछोड्नुस्

चाँडो गर्नुस्

यो आसन सधैँ खाली रहँदैन

अरु पनि बस्न सक्छन्

एक पटक बस्नुस्

बसेपछि नछोड्नुस्

जनता र देशलाई बिर्सनुस्

मेच भाचिए भाँचिन दिनुस्

आदर्श च्यातिए च्यातिन दिनुस्

प्यान्ट च्यातिएर भ्वाङ्ग परे

ग्लू लगाएर बस्नुस्

धक्का दिए

मेचसहित लड्नुस्

सिंहदरबारबाट खेदे

मेचसहित निस्कनुस्

दक्षिण या उत्तर

कता जाने ?

के फरक पर्छ र !

जता सत्ताको फाइदा

त्यतै जानुस्

आशीर्वादको लागि कुद्नुस्

तर मेच अब नछाड्नुस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर