पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलः रिट्ठेपानी डाँडा काट्न खुल्यो बाटो — OSNepal

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलः रिट्ठेपानी डाँडा काट्न खुल्यो बाटो

LC (KTM) July 03, 2022 0

काठमाडौं । भौतिक पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ‘एप्रोच’मा पर्ने पूर्वपट्टिको रिट्ठेपानी डाँडा काट्ने बाटो खुलेको छ। हवाई क्षेत्रको नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र वन विभागबीच डाँडा र त्यहाँका रूख काट्न सहमति भएको हो।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार विमानस्थलको धावनमार्गको एप्रोचमा पर्ने पूर्वपट्टिको डाँडा अग्लो हुँदा हवाई उडान र अवतरणमा समस्या आउने भएपछि कटानका लागि प्रक्रिया अघि बढाइएको थियो। विभागसँगको सम्झौतापछि डाँडासहित त्यहाँका ६ सय रूख काट्ने बाटो खुलेको उनले जानकारी दिए। ‘रूख मात्र काटेर हुँदैन। डाँडाको उचाइ पनि घटाउनुपर्छ। रूखका कारण डाँडा कटान रोकिएको थियो। अब बाटो खुलेको छ,’ उनले भने, ‘वन विभागसँगको सहमतिबिना रूख काट्न नपाउने भएपछि प्रक्रिया लम्बिएको थियो। तर अब सहज हुनेछ।’

डाँडा र रूख कटानका लागि प्राधिकरणले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको पूरक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार पारेको थियो। त्यही प्रतिवेदनअनुसार डाँडा काट्न ६ सय रूख काट्ने प्रक्रिया अघि बढाइएको थियो। ‘सहमति जुटेकाले अब टेन्डर प्रक्रिया सुरु हुन्छ। वर्षायाम भएको र टेन्डर प्रक्रियाका कारण डाँडा र रूख कटानका लागि अझै केही समय लाग्नेछ,’ उनले भने, ‘जतिसक्दो छिटो हुनेगरी कटान सुरु गर्ने प्रयास भइरहेको छ।’यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

डाँडाको १४ देखि ४० मिटर उचाइसम्म कटान गर्नुपर्ने उनले बताए। ४० रोपनी क्षेत्रफलको डाँडा र रूख कटान हुनेछ। विमानस्थलको पूर्वी सिमानाबाट यो डाँडा १.३५ किलोमिटर टाढा पर्छ। प्राधिकरणले आगामी जनवरी १ देखि पोखराको यो विमानस्थल सञ्चालनमा ल्याउने लक्ष्य राखे पनि डाँडा कटानबाहेक अर्काे मुख्य अवरोध मानिएको ल्यान्डफिल साइट स्थानान्तरण पनि आवश्यक रहेको निरौलाले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर