राजधानीका सडकमा सवारी चलाउँदा लेन अनुशासन पालना नगर्ने चालकलाई कारबाही गर्ने — OSNepal

राजधानीका सडकमा सवारी चलाउँदा लेन अनुशासन पालना नगर्ने चालकलाई कारबाही गर्ने

LC (KTM) July 09, 2022 0

काठमाडौँ – काठमाडौँ राजधानीका सडकमा सवारी चलाउँदा लेन अनुशासन पालना नगर्ने सवारी चालकलाई ट्राफिक प्रहरीले कडाइ गर्न थालेको छ । दुर्घटना नियन्त्रण र ट्राफिक चाप व्यवस्थापनको लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजदेखि लेन अनुशासन पालना नगर्ने चालकमाथि कडा निगरानीसँगै कारबाही अघि बढाएको हो ।

ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जिव शर्मा दासले आफ्नो लेनभन्दा बाहिर गएर जथाभावी चलाउने चालकलाई कारवाही गरेको जानकारी दिनुभयो । ट्राफिक प्रहरीले लेन अनुशासन पालना नगर्ने सवारी चालकलाई पहिलोपटक रु ५००, दोस्रो पटक रू एक हजार र तेस्रो पटकपछि रु एक हजार ५०० जरिवाना र एक घण्टा जनचेतनामूलक कक्षा सञ्चालन गर्दै आएको छ ।

चालु आर्थिक वर्षमा १२ हजार ८६८ चालकलाई लेन अनुशासनमा कारवाही गरी जनचेतनामूलक कक्षा दिइसकेको जनाइएको छ । ट्राफिक प्रहरीले सिसीटिभी, ग्रोप्रो क्यामरासमेतबाट लेन अनुशासनको अनुगमन गरी कारवाही गर्दै आएको छ । सिसीटिभीबाट पनि लेन अनुशासन कायम नगरेको भेटिएमा सवारी साधनको नम्बर टिपेर चालकलाई फोन गरी बोलाउने तथा चालककै घरमा चिठी पठाएर जरिवानासमेत गर्ने गरेको छ । लेन अनुशासन पालना नगरी तीव्रगतिमा गुड्ने सवारी साधनका कारण सडक दुर्घटना हुने भएकोले लेनको सही प्रयोग गरेर सवारी साधन सञ्चालन गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर