यसवर्ष नवलपरासीमा वैदेशिक रोजगारीमा गएका १७ जनाले ज्यान गुमाए — OSNepal

यसवर्ष नवलपरासीमा वैदेशिक रोजगारीमा गएका १७ जनाले ज्यान गुमाए

LC (KTM) July 15, 2022 0

नवलपरासी-वैदेशिक रोजगारका क्रममा विभिन्न मुलुकमा गएका नवलपरासी (बर्दघाट–सुस्ता)का १७ जनाले यसवर्ष ज्यान गुमाएका छन् । वैदेशिक रोजगारमा श्रम स्वीकृति गराएर गएकामध्ये जिल्लाका १७ जनाको मृत्यु भएको जनाइएको छ । वैदेशिक रोजगारका क्रममा विभिन्न मुलुकमा मृत्यु हुनेमा जिल्लाको कावासोती नगरपालिकाका छ, मध्यविन्दु नगरपालिकाका पाँच, गैँडाकोट नगरपालिकाका चार तथा देवचुली नगरपालिका र विनयीत्रिवेणी गाउँपालिकाका एक÷एक जना रहेका छन् ।

हिमालयन सामुदायिक विकास मञ्च (हिकोडेफ)का अनुसार वैदेशिक रोजगारमा मृत्यु भएकामध्ये १७ जनाको शव यस वर्ष जिल्लामा ल्याइएको भए पनि मृत्यु हुनेको सङ्ख्या अझै बढी हुनसक्छ । परिवारजनले स्वतःस्फुर्तरुपमा र अन्य माध्यमबाट जिल्लामा शव ल्याउनेको सङ्ख्या ठूलो हुन सक्ने हिकोडेफद्वारा सञ्चालित सुरक्षित आप्रवासन परियोजनाका परामर्शदाता रञ्जना लम्सालले बताउनुभयो । सुरक्षित आप्रवासन परियोजनाका जिल्ला संयोजक रीतुराम सोतीले यसवर्ष १२६ ठगीका मुद्दा दर्ता भएकोमा ५५ वटाको छिनोफानो गरिएको बताउनुभयो ।

क्षतिपूर्तिका लागि दर्ता भएका १७४ मुद्दामध्ये १०० जनालाई रु चार करोड ४४ लाख ४३ हजार क्षतिपूर्ति उपलब्ध गराइएको सोतीको भनाइ छ । उद्धारको पर्खाइमा रहेका २५ मध्ये २१ जनालाई उद्धार गरिएको सोतीले जानकारी दिनुभयो । गतवर्ष मात्रै जिल्लाका छ हजार ८२ जनाले श्रम स्वीकृत लिएर वैदेशिक रोजगारमा गएका थिए । अहिले पनि जिल्ला प्रशासन कार्यालय नवलपुरमा दैनिक ८० जना पासपोर्ट बनाउन आउने गरेका छन् । भिजिट राहदानी बनाएर तथा भारतको बाटो हुँदै वैदेशिक रोजगारमा जाने जिल्लावासीको सङ्ख्या ठूलो हुन सक्ने उहाँको भनाइ छ । राष्ट्रिय जनगणना २०७८को प्रारम्भिक तथ्याङ्कअनुसार नवलपुरका ४४ हजार ८७९ (छ हजार ९३७ महिलासहित) जना वैदेशिक रोजगारमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर