इराक पुगेका १२ जना नेपालीको विभत्स हत्या भएको १८ वर्ष पूरा — OSNepal

इराक पुगेका १२ जना नेपालीको विभत्स हत्या भएको १८ वर्ष पूरा

LC (KTM) September 01, 2022 0

काठमाडौं, १६ भदौ :

वैदेशिक रोजगारीका लागि इराक पुगेका १२ नेपालीको विभत्स हत्या भएको १८ वर्ष पूरा भएको छ । आजभन्दा १८ वर्षअघि अर्थात् १६ भदौ २०६१ मा उग्रवादी संगठन इस्लाम अल सुन्ना समूहले १२ जना नेपालीलाई विभत्स रूपमा हत्या गरेको भिडियो सार्वजनिक भएपछि देशभर विरोध प्रदर्शन भयो । काठमाडौं उपत्यकामा कर्फ्यू जारी गर्नुपरेको थियो ।

रोजगारीको खोजीमा इराक पुगेका १२ नेपाली ४ भदौमा आतंककारीको अपहरणमा परे । बन्धक बनाएपछि एकजनाको घाँटी रेटेर र बाँकी ११ जनाको गोली प्रहार गरी हत्या गरेको थियो ।

वैदेशिक रोजगारीका लागि पुगेका नेपाली कामदारहरूले विदेशी भूमिका अकालमा ज्यान गुमाउनुपर्ने अवस्था आजपर्यन्त छ । केही वर्षअघि अफ्गानिस्तानको काबुलामा आतंकवादी समूहको आक्रमणमा परी १२ जना नेपालीले पनि ज्यान गुमाउनुको परेको थियो ।

इराकमा भएको विभत्स घटनाको भिडियो सार्वजनिक भएसँगै काठमाडौं उपत्यका बढेको हिंसात्मक घटनाले म्यानपावरका कार्यालय, मस्जिद, मुस्लिम समुदायका व्यापार व्यवसाय, सञ्चारगृह तोडफोड हुँदा करोडौं क्षति भएको थियो । अहिले पनि भइरहने विदेशी भूमिमा नेपालीको हत्यालाई रोक्न सरकारले सकेको छैन, यसले कुनै पनि बेला १६ भदौको कालो दिन नदोहोरिएला भन्न सकिँदैन ।

इराक घटना सार्वजनिक भएकै दिन १६ भदौ २०६१ मा करिब तीन सय म्यानपावर कार्यालयमा आगजनी हुँदा २९ सयभन्दा बढी भिसा लागेका राहदानी र करिब ६ हजार भिसा नलागेका राहदानी जलेर नष्ट भएको थियो । म्यानपावर व्यवसायीहरूले १६ भदौलाई कालो दिनको रुपमा लिने गरेका छन् ।

सुरुका वर्षमा जस्तो यस वर्ष घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली सभा कार्यक्रम राखेका छैनन् । जस कारण उक्त घटना नेपालीको स्मृतिबाट हराउँदै गएको हो कि भन्ने आभास दिलाउन थालेको छ । न याे घटनाबारे सरकारले चासाे राखेकाे छ, न त निजी क्षेत्रले नै इराक घटना सम्झन चाहेका छन् । अहिले पनि अवैध ढंगले राेजगारीका लागि इराक जान नेपाली युवायुवतीले छाडेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर