अदालतबाट ४५ लाख जरिवाना ठहर भएका दीपेन्द्र पक्राउ — OSNepal

अदालतबाट ४५ लाख जरिवाना ठहर भएका दीपेन्द्र पक्राउ

LC (KTM) October 19, 2022 0

काठमाडौँ-नेपाल प्रहरीले उच्च अदालत पाटनबाट रु ४५ लाखभन्दा बढी जरिवाना ठहर भएका एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनबाट रु ४५ लाख ५५ हजार चार सय १४ जरिवाना ठहर भएका सप्तरी राजविराज नगरपालिका–८ घर भई हाल काठमाडौँ महानगरपालिका–१४ बस्ने ३२ वर्षीय दीपेन्द्र तातेडलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको गत भदौ १७ गतेको फैसलाले रु ४५ लाख ५५ हजार चार सय १४ जरिवाना र १५ दिन कैद सजाया ठहर भएका तातेडलाई भोटेबहालबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

पक्राउ उनले जनता बैंक लिमिटेड काठमाडौँमा रहेको आफ्नो खातामा पर्याप्त मौज्दात रकम नहुँदानहुँदै झुक्यानमा पारेर बैंकिङजन्य कसुर गरेकाले उनलाई अदालतको आदेशअनुसार पक्राउ गरिएको हो ।पक्राउ दीपेन्द्रलाई जिल्ला अदालत काठमाडौँको आदेशअनुसार कैद भुक्तानको लागि आज केन्द्रीय कारागार सुन्धारा पठाइएको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस:सहकारीबाट ऋण मिलाइदिने भन्दै ठगी गर्ने पक्राउ -प्रहरीले सहकारीबाट ऋण मिलाइदिन्छु भनी ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौँ महानगरपालिका–३ बाँसबारीस्थित चण्डोल बहुउद्देश्यीय सहकारी संस्थाबाट ऋण मिलाइदिन्छु भनी रु तीन लाख १२ हजार ठगी गर्ने ललितपुरका ५६ वर्षीय मणिकुमार थापालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।पक्राउ थापाले आफू उक्त सहकारीको सञ्चालक भएको भन्दै रु ३० लाख ऋण मिलाइदिन्छु भनी उक्त रकम ठगी गरेको प्रहरीले जनाएको छ । थापालाई प्रहरीले ललितपुरको इमाडोलबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको सो कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर