जब उनले बुट ढोगिन् — OSNepal

जब उनले बुट ढोगिन्

LC (KTM) October 20, 2022 0

पोखरा । पोखरा रंगशाला एथलेटिक्स ट्र्याकमा ५ हजार मिटर दौडमा कीर्तिमानसहित स्वर्ण जित्ने लक्ष्य पूरा नभए पनि स्वर्ण जित्दै बुटलाई ढोगिन्, उनले । बाग्मती प्रदेशकी सन्तोषी श्रेष्ठले चोटसँग जुध्दै नवौं राष्ट्रिय खेलकुदमा आफूले सहभागिता जनाएको दुवै विधामा स्वर्ण जित्न सफल भएकी हुन् ।

राष्ट्रिय कीर्तिमान लक्ष्यसहित दौडिएकी सन्तोषीले सोचेजस्तो समय निकाल्न नसकेको बताइन् । चोटकै कारण दुखाइबीच दौड छाड्नेसम्म मनस्थिति बनाएकी उनले कीर्तिमानभन्दा दौड पूरा गर्ने निर्णय गरिन् । दौडिन् र स्वर्ण जितिन् ।यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

‘खेलको सुरुमा एकदम दुखाइ भइरहेको थियो,’ उनले भनिन्, ‘दौडन सक्दिनँ भन्ने लागेको थियो । दौड छाड्नुपरेन, त्यसैले बुटलाई ढोगें ।’ नवौंमा १० हजार मिटर दौडमा पनि स्वर्ण जितेकी सन्तोषीले बुधबार ५ हजार मिटरमा कीर्तिमानी प्रयास गरे पनि खुट्टा र शरीरले साथ नदिएको बताइन् ।

‘तीन ल्याप दौडिएपछि एकछिन त दौडिन नै छाडौंजस्तो भएको थियो । तर, अब रेकर्डभन्दा दौड पूरा गरौं भन्ने लाग्यो । गुरुसँगको सल्लाहमा नै दौडिएको सुनाउँदै उनले थपिन्, ‘खुट्टामा भएको घाउको दुखाइ बढ्दै गएपछि दौड रोक्न मन लागे पनि बिहानै रघुराज वन्त गुरुले मोबाइलमा पठाएको म्यासेजले दौड छाड्न मन लागेन । १० हजारको फलो गर्दै दौडिएको थिएँ । त्यसको अघिल्लो राति सुत्न सकेको थिइनँ । ५ हजार मिटरमा दौडन सक्छुजस्तो लागेको थिएन ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर