नवौँ राष्ट्रिय खेलकुद : ब्याडमिन्टनको स्वर्ण प्रिन्स र रशिलालाई — OSNepal

नवौँ राष्ट्रिय खेलकुद : ब्याडमिन्टनको स्वर्ण प्रिन्स र रशिलालाई

LC (KTM) October 20, 2022 0

पोखरा-नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत यहाँ सम्पन्न ब्याडमिन्टन प्रतियोगिताको पुरुषतर्फ एकल विधाको स्वर्ण नेपाल पुलिस क्लबका प्रिन्स दाहाल र महिलातर्फको स्वर्ण नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी रशिला महर्जनले जितेकी छिन् । पोखराको रङ्गशालास्थित ब्याडमिन्टन कभर्डहलमा सम्पन्न फाइनलमा पुलिसकै विष्णु कटुवाललाई २१–११ र २१–४ अङ्कले पराजित गर्दै दाहाल राष्ट्रिय च्याम्पियन बनेका हुन् । यसअघि आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा दीपेश धामी राष्ट्रिय च्याम्पियन भएका थिए । सो स्पर्धामा लुम्बिनीका इरफान अन्सारी र आर्मीका प्रफुल महर्जनले कांस्य पदक प्राप्त गरे ।

यस्तै महिला एकलतर्फ आर्मीकी रशिला महर्जनले आर्मीकै अनुमाया राईलाई २२–२० र २१–९ अङ्कले हराउँदै राष्ट्रिय च्याम्पियन बनिन् । महर्जन आठौँ राष्ट्रिय खेलकुदकी समेत विजेता हुन् । पूर्वराष्ट्रिय च्याम्पियन नङ्गशलदेवी तामाङ र आर्मीकी अमिता गिरीले कांस्य पदक प्राप्त गरे ।मिक्स युगलतर्फ नेपाल पुसिलका जीवन आचार्य र निता लम्सालको जोडीले स्वर्ण जित्यो । उक्त जोडीले आर्मीका प्रफुल महर्जन र रशिला महर्जनको जोडीलाई २१–१२ र २१–११ अङ्कले हरायो । गण्डकी प्रदेशका विशाल खड्का र यामकुमारी गुरुङको जोडी तथा आर्मीका सुरोज महर्जन र अमिता गिरीको जोडीले कांस्य पदक प्राप्त गर्यो ।

महिला युगलतर्फ आर्मीका अमिता गिरी र रशिला महर्जनको जोडीले आर्मीकै प्रार्थना देउवा र अनुमाया राईको जोडीलाई २१–१५ र २२–२० अङ्कले हराउँदै स्वर्ण जित्यो । प्रदेश नं १ की रोजी राई र सृष्टि राईको जोडी तथा एपिएफ क्लबकी जेशिका गुरुङ र सुनयना मुखियाको जोडीले कांस्य पदक प्राप्त गरे । पुरुष युगलतर्फ आर्मीका प्रफुल महर्जन र रुकेश महर्जनको जोडीले पुलिसका प्रिन्स दाहाल र सुदीप सेढाईंको जोडीलाई २१–१९ र २१–१७ अङ्कले पराजित गर्दै स्वर्ण जिते । पुलिसका जीवन आचार्य र विष्णु कटुवालको जोडी तथा गण्डकीका विधान अधिकारी र भुगोल गुरुङको जोडीले कांस्य जित्यो । आर्मीले ब्याडमिन्टनमा पाँच स्वर्ण तथा पुसिल क्लबले दुई स्वर्ण पदक जित्न सफल भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर