नवौँ राष्ट्रिय खेलकुद : जुडोमा आर्मीलाई चार स्वर्ण — OSNepal

नवौँ राष्ट्रिय खेलकुद : जुडोमा आर्मीलाई चार स्वर्ण

LC (KTM) October 20, 2022 0

अन्नपूर्ण-नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत जुडोमा त्रिभुवन आर्मीले चार र नेपाल पुलिस क्लबले तीन स्वर्ण थपेको छ । पोखरा नयाँ बजारको प्रदर्शनी केन्द्रमा भएको खेलमा आर्मीले महिला पुरुषमा दुई/दुई स्वर्ण जितेको हो । पुलिसतर्फ पुरुषले दुई र महिलाले एक स्वर्ण जितेको हो । एकासी किलोग्राम तल तौल समूहमा नेपाल आर्मीका जगनबहादुर सारुले स्वर्ण जित्नुभयो । नेपाल पुलिस क्बलका मधु रोका मगरले रजत र बागमती प्रदेशका सञ्जय महर्जन र सुदुरपश्चिम प्रदेशका योगेन्द्र विष्टले कांस्य पदकमा चित्त बुझाउनुप¥यो ।

नब्बे किलोग्राम तल तौल समूहमा नेपाल पुलिसका मनिष महतोले स्वर्ण पदक जित्नुभयो । नेपाल आर्मीका सुजन गुरुङले रजत पदक जित्नुभयो । मधेस प्रदेशका गुड्डुकुमार शाह कानु र सुदुपश्चिमका सुरेश गिरीले कांस्य पदक ल्याउनुभयो ।सय किलोग्राम तल तौल समूहमा आर्मीका रमेशबहादुर चन्दले स्वर्ण जित्नुभएको हो । उहाँसँग फाइनलमा पराजित हुनुभएका मधेस प्रदेशका हिमान्सु गुप्ताले रजत प्राप्त गर्नुभयो । नेपाल पुलिसका श्रीराम मकाजु र प्रदेश १ का निश्चल राईले कांस्य पदक प्राप्त गर्न सफल हुनुभयो ।

सय किलोग्राम माथि तौल समूहमा नेपाल पुलिस क्बलका राजन जोशीले स्वर्ण पदक जित्न सफल हुनुभयो । आर्मीका रन्जेश गोलेले रजत पदक जित्नु हुँदा बागमतीका आदित्य दाहाल र लुम्बिनीका प्रनितजङ्ग सिंहले कांस्यमा चित्त बुझाउनुभयो । सत्तरी किलोग्राम तल तौल समूहमा नेपाल आर्मीकी पुनम श्रेष्ठले स्वर्ण पदक जित्नुभयो । पुनमसँग पराजित हुनुभएकी बागमती प्रदेशकी रञ्जना खड्काले रजत पदकमा चित्त बुझाउनुप¥यो । नेपाल पुलिस क्लबकी रजनी मगर र प्रदेश १ की सुमन्ता राईले कांस्य पदक प्राप्त गर्नुभयो ।

अठहत्तर किलोग्राम तल तौल समूहमा नेपाल पुलिसकी दीपा गुरुङले स्वर्ण जित्नुहुँदा आर्मीकी निर्मला घर्ती मगरले रजत प्राप्त गर्नुभयो । लुम्बिनीका सुशीलाकुमारी चौधरी र सम्झना चौधरीले कांस्य जित्नुभयो ।अठहत्तर किलोग्राम माथि उमेर समूहमा नेपाल आर्मीकी आकृति जोशीले स्वर्ण पदक हात पार्नुभयो । नेपाल पुलिसकी पूजा राजवंशीले रजत पदक ल्याउनुभयो । नेपाल पुलिसकी भावना घर्ती मगर र बागमतीकी अस्मिता गोलेले कास्य पदक प्राप्त गर्नुभयो । कूल आठ स्वर्ण जितेको आर्मी च्याम्पियन हुने निश्चित छ । अब मिक्स टिम इभेन्टको एक खेल मात्र बाँकी भएकाले जुडोमा आर्मी च्याम्पियन बन्ने भएको हो ।

जुडोमा हालसम्म नेपाल आर्मीले आठ स्वर्ण, छ कांस्य र तीन रजत पदक जितेको छ । पुलिसले छ स्वर्ण, तीन रजत र आठ कांस्य प्राप्त गरेको छ । बागमती प्रदेशले दुई रजत र छ कांस्य जित्यो । लुम्बिनीले एक रजत र तीन कांस्य जितेको छ । मधेसले एक रजत र दुई कांस्य जितेको छ । एपीएफले एक रजत, प्रदेश नम्बर १ र सुदुरपश्चिमले दुई/दुई कांस्य जित्दा कर्णाली र एनआरएनएले एक/एक कांस्यमा चित्त बुझायो । घरेलु मैदानमा भएको नवौँ राष्ट्रिय खेलकुदमा जुडोतर्फ गण्डकीले हालसम्म खाता खोल्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर