महानगरद्वारा लार्भा नष्ट गर्ने अभियानलाई तीव्रता — OSNepal

महानगरद्वारा लार्भा नष्ट गर्ने अभियानलाई तीव्रता

LC (KTM) October 20, 2022 0

विराटनगर -विराटनगर महानगरपालिकाले डेङ्गु रोगको सङ्क्रमण रोकथाम तथा नियन्त्रण अभियानलाई तीव्रता दिएको छ ।सरोकारवालालाई राखेर अभिमुखीकरणपछि महानगरले डेङ्गुको सङ्क्रमण सार्ने लामखुट्टेको लार्भा नष्ट गर्ने अभियानलाई तीव्रता दिएको हो । महानगरको स्वास्थ्य महाशाखाको सक्रियतामा बुधबार विराटनगर–८ का विभिन्न टोलमा लामखुट्टेको लार्भा खोज तथा नष्ट अभियान सञ्चालन गरिएको महानगरले जनाएको छ ।

वडाध्यक्ष राम पोखरेलको नेतृत्वमा शान्तिचोकदेखि दक्षिण जतुवासम्म रहेका मोटरसाइकलका ग्यारेज, स्थानीयको घर र पानी जमेको स्थानमा लामखुट्टेको लार्भा खोजेर नष्ट गरिएको स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिनुभयो ।विशेष गरी टायर, झाडी, जमेको फोहोर पानीलगायतमा डेङ्गुको सङ्क्रमण सार्ने लामखुट्टे बस्ने भएकाले खोज तथा नियन्त्रण अभियानलाई तीव्रता दिएको वडाध्यक्ष पोखरेलले जानकारी दिनुभयो ।

यसअघि महानगरले स्वास्थ्य, नागरिक समाजसहित सरोकारवालालाई राखेर डेङ्गुु नियन्त्रण तथा रोकथामका लागि अभिमुखीकरण सञ्चालन गरेको थियो । महानगरका प्रमुख नागेश कोइरालाको निर्देशनअनुसार सबै वडामा डेङ्गु नियन्त्रणको अभियान सञ्चालन गरिरहेको महाशाखा प्रमुख अलीले बताउनुभयो । सो कार्यअन्तर्गत हरेक दिन विभिन्न वडामा लामखुट्टे र लार्भा नष्ट गर्ने अभियान जारी छ ।

यसअघि मङ्गलबार वडाध्यक्ष श्याम घिमिरेको नेतृत्वमा वडा नं १९ मा खोज तथा नष्ट गर्ने अभियान सञ्चालन गरिएको थियो । महानगरको अभियानपछि सङ्क्रमणसमेत घट्दै गएको महानगर स्वास्थ्य महाशाखा प्रमुख अलीको दाबी छ । घर वरिपरि फोहोर पानी जम्न नदिने, सुत्दा झुल टाँगेर मात्रै सुत्ने, शरीर ढाक्ने लुगा लगाउनेलगायतका विधि अपनाएमा डेङ्गुको सङ्क्रमणबाट बच्न सकिने चिकित्सकले बताउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर