आजदेखि राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु हुँदै — OSNepal

आजदेखि राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु हुँदै

LC (KTM) October 13, 2022 0

बेनी-नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत म्याग्दीको सदरमुकाम बेनीमा आजदेखि राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु हुँदै छ । कात्तिक २ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताका लागि बेनीको खुल्लामञ्चमा खेल सामग्रीको बन्दोबस्त, खेल मैदान निर्माण तथा मर्मत र सजावटको काम सकिएको छ । खेलाडीको आवास र अभ्यासस्थलसहित ब्यवस्थापकीय काम सकिएको र भव्य समारोहकाबीच उद्घाटन गर्ने तयारी गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले जानकारी दिनुभयो ।

जिल्ला खेलकुद विकास समिति र जिल्ला भलिबल सङ्घको नेतृत्व र पालिकाको सहयोगमा प्रतियोगिता सञ्चालनका लागि पूर्वाधार तयारी भएको छ । “राष्ट्रिय र अन्तराष्ट्रियस्तरमा सहभागिता जनाएका खेलाडीको उपस्थिति हुने उक्त प्रतियोगिताले जिल्लामा खेलकुद क्षेत्रको विकासमा थप टेवा पु¥याउने देखिन्छ, राष्ट्रियस्तरको प्रतियोगिता यस जिल्लामा आयोजना हुनु सम्पूर्ण म्याग्देली खेलप्रेमिका लागि गौरवको कुरा भएकाले हामी प्रतियोगितालाई सफल बनाउन जुटेका छौँ’’– अध्यक्ष केसीले भन्नुभयो ।

महिला भलिबलमा सहभागी हुने सात प्रदेशसहित नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका खेलाडी बेनीमा आइसकेको जिल्ला भलिबल सङ्घका अध्यक्ष तेजेन्द्र बाँनियाले जानकारी दिनुभयो । प्रतियोगितामा सहभागी हुन आएका खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई होटल व्यवसायी सङ्घको समन्वयमा आवासको प्रबन्ध मिलाइएको छ । आज बेनीमा झाँकीसहितको ¥यालीमार्फत खेलाडीलाई स्वागत गर्दै प्रतियोगिता औपचारिक उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

उद्घाटनका अवसरमा जिल्लाका मौलिककला, संस्कृति, वेषभूषा र बाजागाजासमेत प्रदर्शन गरिने भएको छ । राष्ट्रिय महिला भलिबल प्रतियोगिताको पूर्वसन्ध्यामा बेनीबजार र खेल सञ्चालन हुने खुलामञ्च परिसर सरसफाइ गरी तुल, ब्यानर र तोरण टाँगेर सिँगारिएको छ । गण्डकी प्रदेशमा ३९ वर्षपछि भएको उक्त प्रतियोगिताअन्तर्गत जिल्लामा महिला भलिबलसँगै तेक्वान्दो प्रतियोगितासमेत सञ्चालन हुँदै छ । कालीपुलस्थित कवर्ड हलमा हुने तेक्वान्डो प्रतियोगिताका लागिसमेत खेल मैदानको व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएको छ ।
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर