नवौँ राष्ट्रिय खेलकुद : शारीरिक सुगठनमा विवेक र डेभिडलाई स्वर्ण — OSNepal

नवौँ राष्ट्रिय खेलकुद : शारीरिक सुगठनमा विवेक र डेभिडलाई स्वर्ण

LC (KTM) October 16, 2022 0

गण्डकी-नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारीरिक सुगठनको पहिलो स्वर्ण गण्डकी प्रदेशले जितेको छ । पोखरा सभागृहमा भएको शारीरिक सुगठनतर्फको ५५ किलोग्राम तौल समूहमा गण्डकीका विवेक हमालले स्वर्ण जितेका हुन् । यस्तै बागमतीका दिनेश गोसाईंले रजत र आर्मीका रमेश फोम्बाले कास्य पदक जित्न सफल भए । स्वर्णका लागि प्रारम्भिक निर्णयबाट छनोट भएका पाँच जनाबाट विजेता छनोट गरिएको थियो ।प्रारम्भिक निर्णयबाट गण्डकीका विवेक हमाल, बागमतीका दिनेश गोसाईं, नेपाल प्रहरीका तेजबहादुर हमाल, एपिएफका कपिल गौतम र त्रिभुवन आर्मी क्लबका रमेश फोम्बो छनोट भएका थिए । पचपन्न किलो तौल समूहमा उनीहरुसँगै प्रदेश १ का अजय राजवंशी, लुम्बिनी प्रदेशका भानुभक्त कडोरिया, कर्णाली प्रदेशका प्रकाशबहादुर शाही र सुदूरपश्चिम प्रदेशका सुनिल राईले प्रतिस्पर्धा गरेका थिए ।

त्यसपछि भएको ६० किलोग्राम तौल समूहमा नेपाल पुलिसका डेभिड बलामीले स्वर्ण, एपिएफका किसन दिवाकरले रजत र लुम्बिनी प्रदेशका सुनिल आलेले कास्य पदक जितेका छन् । आजै ६५, ७० र ७५ किलोग्राम तौल समूहको प्रारम्भिक निर्णय र फाइनल हुने शारीरिक सुगङठन खेल उपसमिति संयोजक शिवलाल श्रेष्ठले जानकारी दिनुभयो ।

दुई दिनसम्म चल्ने खेलको पहिलो दिन ५५, ६०, ६५, ७० र ७५ किलोग्राम तौल समूहको फाइनल हुनुको साथै दोस्रो दिन अन्य विधाका खेल हुनेछन् । उहाँका अनुसार प्रदेश १, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपिएफ, नेपाल पुलिस क्लबले सहभागिता जनाउनेछन् । उनीहरुले पुरुषतर्फ ५५, ६०, ६५, ७०, ७५, ८० र ८० किलोग्राम माथिको इभेन्टसँगै फिजिक्स १७० सेमी र १७० सेमीमाथिको विधामा प्रतिस्पर्धा गर्नेछन् । महिलाले खुल्ला र फिजिक्स खुल्लामा प्रतिस्पर्धा गर्ने श्रेष्ठले बताए । शारीरिक सुगठनमा महिला र पुरुषको सबै विधामा ११ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर