नवौँ राष्ट्रिय खेलकुद : कर्णालीमा भेट्ने सन्देशसहित पोखराबाट समापन — OSNepal

नवौँ राष्ट्रिय खेलकुद : कर्णालीमा भेट्ने सन्देशसहित पोखराबाट समापन

LC (KTM) October 21, 2022 0

कास्की, ४ कात्तिक-गण्डकी प्रदेशको राजधानी सहर पोखरा केन्द्रित भएर आयोजना भएको नवौँ राष्ट्रिय खेलकुद समग्रमा भव्य रह्यो । विगतमा दुई पटकसम्म मिति घोषणा भएर पनि रोकिएको राष्ट्रिय प्रतियोगिता पोखरा र गण्डकी प्रदेशका आठ जिल्लामा असोज २८ देखि कात्तिक ३ गतेसम्म उत्साहपूर्णरुपमा आयोजना भएको थियो ।
प्रतियोगिताले सहभागी खेलाडी, प्रशिक्षक र आयोजकमा उत्साह थप्यो भने चार दशकपछि पोखराले खेलकुदको कुम्भमेला आयोजनाको अवसरलाई राम्रैसँग सदुपयोग गरेको छ । प्रतियोगिताका ३६ वटै खेल तोकिएको समयमा, तोकिएकै स्थानमा सम्पन्न भए । खेलाडीहरुले लामो समयपछि आफ्नो खेल कौशल प्रदर्शन गर्ने अवसर पाउनु र केही राष्ट्रिय कीर्तिमान बन्नुले राष्ट्रिय खेलकुद खेलाडीका लागि विशेष रह्यो ।

खेलाडीले खेल्न पाए, खेल क्षेत्र चलायमान बन्यो । प्रतियोगिताकै कारण पोखरा बाहिर पनि केही खेल पूर्वाधार थपिए । पोखराले प्रवद्र्धनको राम्रो मौका पायो । नवौँको तयारीका लागि देशभर भएका छनोट प्रतियोगिताहरुले लामो समय सुनसान बनेको खेल क्षेत्रलाई चलायमान समेत बनायो ।

ठूला चाडपर्वको मुखमा छोटो तयारीमा पनि पोखराले भव्य प्रतियोगिता आयोजना गरेर सम्पूर्ण देशलाई नै सकारात्मक सन्देश दिन सफल भयो । सरकारले गत जेठ दोस्रो साता मिति घोषणा गरे पनि बर्खायाम लगायतले तयारीका लागि लामो समय थिएन । यसबीचमा ठूलो चाड दसैँ आयो र दसैँको लामो झरीले पनि चुनौती थपेका प्रतियोगिता सुरुपछिका दिनमा मौसमले पनि साथ दिएकाले आयोजना सफल भयो । छ हजारभन्दा बढी खेलाडी र अफिसियल, खेल पदाधिकारी तथा प्रशिक्षक, रेफ्री र खेलाडीका अभिभावकसमेत गरी १० हजारभन्दा बढीको जमघट पोखरामा भयो पर्यटकीय सहरमा आयोजनाको खेलकुदको कुम्भ मेलाले पोखराको पर्यटकीय प्रवद्र्धनसहित यहाँको अर्थतन्त्र चलायमान बनाउन मद्दत पुगेको छ भने आर्थिक गतिविधि यसबाट वृद्धि भएका छन् । यससँगै राष्ट्रिय खेलकुद आयोजनाका केही तीता अनुभव पनि रहेका छन् ।

राष्ट्रको गौरवसँग जोडिएको प्रतियोगितामा समस्या, अभाव र अव्यवस्था पनि देखियो । प्रतियोगिताकै क्रममा खेल्दै गर्दा एक जना पोखरेली प्याराग्लाइडिङ खेलाडी निसिम थापाको दुर्घटनामा परी भएको मृत्युले सबैमा पीडा पनि दियो । खेलाडीले समयमै खेल सामग्री पाएनन् । खेल सुरु हुँदासम्म मैदानको स्तरोन्नति बाँकी नै रह्यो । खेल सामग्रीको गुणस्तरमा प्रश्न उठे । सङ्घीयता कार्यान्वयनपछिको पहिलो राष्ट्रिय खेलकुदमा सङ्घ र प्रदेशबीच समन्वयको अभावले गर्दा अझ राम्रो गर्न सकिने सम्भावना रहेपनि त्यसो हुन सकेन ।

सङ्घीयताको मर्मभन्दा बाहिर गएर राष्ट्रिय खेलकुद आयोजनामा सङ्घ हाबी भएको, सङ्घकै खटनपटन चलेका जस्ता गुनासाहरु पनि यस बीचमा बग्रेल्ती रहेपनि समग्रमा राष्ट्रिय खेलकुदले आफ्नो लक्ष्य हासिल गरेको छ । राष्ट्रिय खेलकुद समग्रतामा आफ्नो उद्देश्य हासिल गर्न सफल भयो, आगामी दिनमा यस प्रतियोगिताले निरन्तरता पाउँछ भन्ने सकारात्मक सन्देश पोखराबाट प्रवाह भएको छ ।

पोखराबाट दशौँ राष्ट्रिय खेलकुद मिति घोषणा भइसकेको छ । आगामी विसं २०८१ मङ्सिर २ देिख ९ गतेसम्म कर्णाली प्रदेशमा राष्ट्रिय खेलकुद गर्ने घोषणा गरिएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले कणालीका सामाजिक विकासमन्त्री यज्ञबहादुर विसीलाई दशौँको झण्डा हस्तान्तरण गरेपछि प्रतियोगिताकोे निरन्तरताको सन्देश पोखराले दिएको छ ।

पोखराका पूर्वअग्रज खेलाडी एवं हरिप्रसाद पराजुली समग्रमा नवौँ राष्ट्रिय खेलकुद भव्य बनेको बताउनुहुन्छ । नवौँका लागि भनेर पोखरामा बन्नुपर्ने केही खेल पूर्वाधार निर्माण नभए पनि प्रतियोगिता आयोजना भएर खेल सञ्चालन हुनु र यस क्षेत्रको अर्थतन्त्र चलायमान हुनु सकारात्मक भएको उहाँको अनुभव छ । उहाँले भन्नुभयो, “नवौँ राष्ट्रिय खेलकुदले छोटो समयमा पनि चहलपहल ल्यायो, वित्तिय स्रोत परिचालन भयो र यहाँको आर्थिक अवस्थालाई राम्रो बनाउन सहयोग पुगेको । अन्य जिल्लाहरुले अपनत्व लिएका छन्, विगतमा रोकिए पनि अव निरन्तर हुन्छ भन्ने सकारात्मक पाटो यसले दिएको छ ।”

पूर्वाधार निर्माणमा भने पोखरा र गण्डकी प्रदेशले गर्व गर्ने ठाउँ नरहेको भूतपूर्व खेलाडी मञ्च नेपालका अध्यक्षसमेत रहनुभएका पराजुली बताउनुहुन्छ । विसं २०४० मा निर्माण पूर्वाधारले नवौँ सम्पन्न भएको छ । राष्ट्रियका लागि भनेर पौडी पोखरी, सुटिङ रेञ्ज निर्माण लगायतका पूर्वाधार बनाउने योजना रहेपनि यसबीचमा बनेनन् । “पोखरामा खेल पूर्वाधार त्यसमा थपिनुपर्ने थियो, केहीको अपग्रेट हुनुपर्नेमा भएन । नवौँ खेलकुदको निहुँमा थप केही भएन । खेलाउनका लागि केही व्यवस्था गर्ने काम मात्र भयो, नवौँका माध्यमबाट पूर्वाधार बनेन्”, पराजुलीले भन्नुभयो ।

अग्रज खेलाडी पराजुली दशौँको मिति घोषणा भइसकेकाले राष्ट्रिय खेलकुद परिषद् र प्रदेश खेलकुद परिषद्ले आजैदेखि दशौँका लागि योजना बनाउनुपर्ने आवश्यकता ठान्नुहुन्छ । जहिले पनि अन्तिम समयमा आएर मात्र तयारीका काम गर्दा कमजोरी रहने भएकाले आआफ्नो जिम्मेवारीको काम सम्बन्धित निकायले थालनी गर्नुपर्ने उहाँको भनाइ छ ।

पहिलादेखि नै पूर्वाधारको व्यवस्था, खेलाडीलाई तालिम, प्रशिक्षक र अभ्यासको निरन्तरता तथा प्रतियोगिताहरु निरन्तर हुँदा मात्र राष्ट्रिय खेलकुद भव्य हन्छ । पराजुलीले भन्नुभयो, “पोखराले दिएको सन्देश दशौँको तयारी अहिलेदेखि नै सुरु गर भन्ने हो । सम्बन्धित खेल सङ्घले पनि आफ्नो खेलको राष्ट्रिय प्रतियोगिता गराउनुपर्दछ । यसले मात्र राष्ट्रिय खेलकुदको रौनक आउँछ ।”
गण्डकी प्रदेशमा नियमित भएको भए डेढ वर्षअघि नै राष्ट्रिय खेलकुद सम्पन्न हुनुपर्ने थियो । सरकारले २०७७ सालको फागुन अन्तिम साताका लागि मिति घोषणा गरे पनि कोरोना महामारीका कारण प्रतियोगिता तोकिएको मितिमा हुन सकेन । त्यसपछि गत जेठमा पुनः प्रतियोगिताको मिति घोषणा भएपनि स्थानीय तहको निर्वाचनको तयारीले राष्ट्रिय खेलकुदका लागि तयारी पुगेन र मिति सार्नु प¥यो ।

प्रदेश खेलकुद परिषद् गण्डकीका निर्वतमान सदस्य सचिव तेजबहादुर गुरुङले कोभिडको महामारीले सुस्ताएको खेल क्षेत्रलाई राष्ट्रिय खेलकुद प्रतियोगिताले चलायमान बनाएको बताउनुभयो । प्रतियोगितामा केही राम्रा रेकर्ड कायम हुनु र यहाँको पर्यटनका लागि समेत राष्ट्रिय खेलकुदले सकारात्मक सन्देश दिएको उहाँ बताउनुहुन्छ ।
प्रतियोगितालाई अझै राम्रो गर्नसक्ने अवस्था रहे पनि पनि समन्वयमा भने कमी देखिएको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “चुनौतीका बीचमा पनि राष्ट्रिय खेलकुद सफल भयो । केही राम्रा रकेर्ड बन्नु सकारात्मक पक्ष हो ।”

निर्वतमान सदस्य–सचिव गुरुङको अनुभवमा प्रतियोगिता व्यवस्थापनमा निकै कमजोरी देखियो । त्यसैगरी प्रदेशलाई व्यवस्थापकीय कुराहरुमा प्रत्यक्ष सङ्लग्न हुनबाट बञ्चित गरिएकाले पनि अझै राम्रो गर्ने ठाउँ हुँदाहुँदै पनि हुन सकेन । उहाँले भन्नुभयो,“खेल सामग्री, खेलभित्रको प्राविधिक कुरादेखि खेल मैदान तयारीमा धेरै समस्याहरु निस्किए ।”

विभिन्न खेल विधामा कीर्तिमान-पोखरामा सञ्चालन भएको राष्ट्रिय खेलकुदमा कीर्तिमानको ओइरो नै लाग्यो । खेलाडीहरुले खुलेर आफ्नो खेल कौसल प्रदर्शन गरेपछि नयाँ नयाँ कीतिमान कायम भए । लामो समय आफ्नो प्रतिभा देखाउन नपाएका खेलाडीले एथलेटिक्स, टेनिस, पौडी, भारोत्तोलन लगायतका खेल विधामा राष्ट्रिय रेकर्ड कायम गर्न सफल भए ।प्रतियोगितामा एथलेटिक्सतर्फ नेपाली सेनाका जयरानी थारुले पाँच स्वर्ण पदक जित्न सफल हुनुभयो । एथलेटिक्सको पाँच प्रतिस्पर्धामा सहभागी उहाँले तीनवटा राष्ट्रिय कीर्तिमानसहित पाँचवटैमा स्वर्ण जित्नुभयो ।

त्यसैगरी टेनिसमा नेपालको पहिलो वरियताका खेलाडीसमेत रहनुभएका अभिलाषा विष्टले सर्वाधिक चार स्वर्ण जितेर राष्ट्रिय कीर्तिमान बनाउनुभएको छ । सेनाबाट खेल्नुभएका अभिलाषाले टेनिसको ‘महिला एकल’, ‘महिला युगल’, ‘मिक्स डबल्स’ र ‘टिम इभेन्ट’मा गरी चार स्वर्ण पदक जित्नुभयो । उहाँ टेनिसमा एकै व्यक्तिले चार स्वर्ण जित्ने पहिलो कीर्तिमानसमेत बनाउनुभएको हो ।यसैगरी नेपाल प्रहरीका तारादेवी पुनले नवौँ राष्ट्रिय खेलकुदको भारोत्तोलनमा तीन राष्ट्रिय कीर्तिमान बनाउनुभयो ।

उहाँले महिला ८१ केजी तौल समूहमा ‘स्न्याच’ र ‘क्लिन एण्ड जर्क’मा गरी तीन वटा राष्ट्रिय कीर्तिमान बनाउनुभएको हो । सेनाका एथलेटिक्स खेलाडी सोमबहादु कुमालले चार सय मिटर दौडमा राष्ट्रिय कीर्तिमान बनाउनुभयो । उहाँले ३२ वर्ष पुरानो कीर्तिमान तोड्दै आफ्नो पक्षमा रेकर्ड राख्नुभयो ।ष्ट्रिय खेलकुदको एथलेटिक्सअन्तर्गत महिला एक मिटर दौडमा पनि यसपटक राष्ट्रिय कीर्तिमान कायम भएको छ । सेनाका सरस्वतीले चौधरीले पुरानो रकर्ड भङ्ग गर्दै आफ्नो नाममा रेकर्ड राख्न सफल हुनुभयो ।

यसैगरी नेपाल प्रहरीका चन्द्रकला लामगाडेले ज्याभलिनमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जित्नुभयो । उहाँले यसअघि शटपुटमा पनि स्वर्ण जितेकी जित्नुभएकामा ज्याभलिनमा कीर्तिमान बनाउनुभएको हो । त्यस्तै चार सय मिटर महिला दौडमा एपिएफका रमिताकुमारी थारुले राष्ट्रिय कीर्तिमान बनाउनुभयो । उहाँले कीर्तिमानसहित स्वर्ण पदक जित्नुभएको हो । भारोत्तोलनको ८१ किलो तौल समूहमा पुलिसका विकास थापाले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक आफ्नो नाममा लेखाउनुभयो । उहाँले ‘क्लिन एण्ड जर्क’मा १३९ किलो तौल उठाएर राष्ट्रिय कीर्तिमान बनाउनुभएको हो ।

आर्मीको च्याम्पियनमा ह्याट्रिक-नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लब सर्वाधिक एक सय ७२ स्वर्ण पदक जितेर च्याम्पियन बन्यो । आर्मी लगातार तीन संस्करणमा च्याम्पियन बनेको हो । यसअघि सातौँ र आठौँ राट्रिय खेलकुदमा च्याम्पियन बनेको आर्मीले ह्याट्रिक पूरा गरेको छ । प्रतियोगितामा सेनाले स्वर्ण एक सय ७२, रजत एक सय १० र ८९ कास्य गरी तीन सय ७१ पदक जितेर च्याम्पियन बनेको हो ।पहिलोपटक राष्ट्रिय खेलकुदको विजेतालाई सुन र चाँदी समावेश गरेर बनाइएको ट्रफी प्रदान गरिएको हो । यसैगरी सशस्त्र प्रहरीको एपिएफले ६५ स्वर्ण ७२ रजत र ८२ कास्यसहित दुई १९ पदक जितेर द्वितीय भएको छ ।

नेपाल प्रहरीले ६१ स्वर्ण, ६१ कास्य र ७३ रजतसहित कूल एक सय ९५ पदक जितेको छ । घरेलु मैदानको सदुपयोग गर्दै आयोजक गण्डकी प्रदेश चौथो तथा प्रदेशमध्ये पहिलो हुन सफल भयो । गण्डकीले ३२ स्वर्ण, ३१ रजत ५७ कास्यसहित एक सय २० पदकसहित समग्रमा चौथो भएको छ । बागमती प्रदेशले २४ स्वर्ण ४७ रजत र ७४ कास्यपदकसहित एक सय ४५ पदकसहित पाँचौँ स्थानमा रहन सफल भयो ।

प्रदेश नं १ ले १० स्वर्ण २३ रजत र ५० कास्य पदक सहित छैटौं भएको छ । सुदुरपश्चिम प्रदेश १० स्वर्ण, १० रजत ४३ कास्य सदक सहित ६३ पदक जित्न सफल भयो । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले १० स्वर्ण नौ रजत र सात कास्य गरी कूल २६ पदक जित्दा लुम्बिनी प्रदेशले छ स्वर्ण, २२ रजत र ४० कास्य गरी ६८ पदक जितेको छ । यस्तै मधेश प्रदेशले पाँच स्वर्ण, आठ रजत र २६ कास्य गरी ३९ पदक जित्दा कर्णाली प्रदेशले दुई स्वर्ण, चार रजत र १२ कास्यसहित १८ पदक जितेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर