देउसीभैलो राति १० बजेसम्म खेल्न पाइने — OSNepal

देउसीभैलो राति १० बजेसम्म खेल्न पाइने

LC (KTM) October 25, 2022 0

काठमाडौं-तिहारमा राति १० बजेसम्म देउसीभैलो खेल्न पाइने भएको छ। राति १० बजेसम्म देउसीभैलो खेल्ने गरी सुरक्षा प्रबन्ध गरिएको प्रशासनले जनाएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) घनश्याम उपाध्यायका अनुसार देउसीभैलो खेल्नका लागि यसअघि राति ९ बजेसम्म तोकिएकामा नागरिकको मागबमोजिम थप एक घण्टा अर्थात् राति १० बजेसम्म कायम गरिएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले कात्तिक ४ गते जरुरी सूचना जारी गर्दै देउसीभैलो राति ९ बजेसम्म मात्र खेल्नु÷खेलाउन जानकारी गराएको थियो। “देउसीभैलो खेल्न ९ बजेसम्म तोकिएको थियो नागरिकबाट माग भएबमोजिम राति १० बजेसम्म खेल्न दिने निर्णय गरिएको छ, सोहीअनुरुपको सुरक्षा प्रबन्ध मिलाइएको छ”, प्रजिअ उपाध्यायले भन्नुभयो।

प्रशासनले जुवातासजन्य गतिविधि नियन्त्रणमै रहेको जनाएको छ। त्यस्ता गतिविधिलाई नियन्त्रण र निरुत्साहित गर्न प्रशासन सक्रिय ढङ्गले लागेको छ। काठमाडौँ प्रशासनले दीपावली, नेपाल संवत् र छठपर्व प्रचलित परम्पराअनुसार सामाजिक एवं सांस्कृतिक पहिचान कायम हुने गरी प्रचलित कानुनको पालना गर्दै मनाउन सबैमा जरुरी सूचनामार्फत अनुरोध गरेको छ।

यस अवसरमा सार्वजनिकस्थलमा मादक पदार्थ सेवन नगरी सुरक्षित र मर्यादित तवरले मनाउन, दीपावलीको अवसरमा बिजुली एवं मैनबत्तीजस्ता सामग्रीको प्रयोग सावधानीपूर्वक गर्न पनि प्रशासनले आग्रह गरेको छ। “पटका, आतिसबाजी तथा अन्य प्रज्वलनशील पदार्थको ओसारपसार, बिक्री वितरण र प्रयोग नगर्न/नगराउन सबैमा अनुरोध गरेको छ। यो सूचनाको पालना नगरेमा कानुनबमोजिम कारबाही हुने जानकारी गराइन्छ”, सूचनामा भनिएको छ। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर