सरोज खनालको डेब्यु निर्देशन रहेको चलचित्र ‘बगान’ फागुन १२ गते रिलिज हुने — OSNepal

सरोज खनालको डेब्यु निर्देशन रहेको चलचित्र ‘बगान’ फागुन १२ गते रिलिज हुने

LC (KTM) November 01, 2022 0

काठमाडौं, १५ कात्तिक:अभिनेता सरोज खनालको डेब्यू निर्देशन रहेको नेपाली चलचित्र ‘बगान’ आगामी १२ फागुनमा रिलिज हुने भएको छ । सोमबार काठमाडौंमा आयोजित एक समारोहबीच चलचित्र रिलिज मिति, शीर्ष गीत ‘उडी छुनु छ आकाश’ को लिरिकल भिडियो तथा टिजर सार्वजनिक गरियो । गीतमा सुरेश वाग्लेको शब्द रचना, हरि लम्सालको संगीत र बानिका प्रधानको स्वर रहेको छ ।

तीन पुस्ताका कलाकारहरु रहेको यसमा ‘आमा’ चलचित्रकी अभिनेत्री बसुन्धरा भुषालसहित नीर शाह, मिथिला शर्मा, करिश्मा मानन्धर, सरोज खनाल, आकाश श्रेष्ठ, नवअभिनेत्री प्रमिला कार्कीलगायतको अभिनय रहेको छ ।

निर्देशक तथा पटकथाकार खनालले नाटक मञ्चन गर्ने तयारी सन्दर्भमा नाट्यकर्मी सुनिल पोखरेलले उपलब्ध गराएको कथासंग्रहबाट ‘बगान’ बनाएको बताए । ‘पुस्तकमा रहेका कथाहरु पढ्दै जाँदा स्वप्न नीरवजीको कथामा गएर म अड्किएँ । त्यहाँ उहाँले एउटा विशाल प्रश्न खडा गर्नुभएको रहेछ । मलाई यो प्रश्नको उत्तर हामीले दिनैपर्छ भन्ने लाग्यो,’ खनालले भने, ‘लेख्नेले त लेखेर आफ्नो दायित्व पूरा गर्नुभयो । एक व्यक्तिले उठाएको मुद्दालाई अन्य व्यक्तिहरुले समाजमा उजागर गर्नु हाम्रो धर्म हुन्छ । त्यसकारण मैले उक्त कथालाई चलचित्रको स्क्रिप्ट लेखी र चलचित्र बनाएँ ।’
उनले चलचित्रमार्फत विधवा पिताको मात्रै होइन, विधवा आमाको पनि बिहे हुनुपर्छ भन्ने सवाल उठाएको र त्यसको जिम्मा पनि आजको पिँढीलाई दिएको बताए ।

अभिनेता नीर शाहले उत्कृष्टताको क्लाइमेक्स यदि दुईवटा शब्दमा मात्र व्यक्त गर्नुपर्ने भयो भने आफूले साह्रै गर्वका साथ सरोज खनाल भन्न सक्ने बताए । उनले भने, ‘हि इज एक्सेलेन्ट भन्नुपर्‍यो भने मैले सरोज खनाल भन्छु । यो नामले मेरो दृष्टिकोणमा त्यो मूल्य राख्दछ ।’

अभिनेत्री करिश्मा मानन्धरले आफ्नो लामो चलचित्र करियरमा कहिल्यै उत्कृष्ट अभिनेत्रीको अवार्ड नपाएको बताइन् । मानन्धर भन्छिन्, ‘मैले कहिल्यै पनि बेस्ट एक्टर भनेर अवार्ड पाइनँ । मेरो यति लामो करियर छ, मैले जहिले पनि मेकअप र लुगामा मात्रै ध्यान दिनुपर्ने बाध्यता रह्यो । ‘बगान’मा मैले त्यो पाएकी छु, जुन मैले अभिनय गर्न चाहेकी थिएँ । यो चलचित्रमा अभिनय गर्दा मैले एकपटक पनि ऐनामा हेर्नु परेन ।’

निर्माता सुरेश वाग्लेले चलचित्र मनोरञ्जनको साधन मात्र नभएर यसले समाजलाई बाटो देखाउने काम पनि गर्नुपर्ने बताए । उनले त्यसकारण नै चलचित्र बनाएको बताए । कार्यकारी निर्माता विनोद मानन्धरले यो चलचित्रमा सबैको साथ चाहिएको बताए ।

बगानमा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, अर्जुन जिसी, राजेश शाह र सन्देश शाहको सम्पादन, समिर मियाँको भिएफएक्स तथा रेनिश फागोको कलर करेक्शन रहेको छ । नेपाली वेबसाइट डटकमको प्रस्तुत िरहेको ‘बगान’का निर्माता सुरेश वाग्ले र कार्यकारी निर्माता विनोद मानन्धर हुन् । यो चलचित्र नेपाल र अमेरिकासहित नेपालीको बसोबास रहने विभिन्न देशमा फिल्म प्रदर्शन गर्ने योजनामा निर्माण टिम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर