महिला प्रदेशसभा सदस्यको गुनासो-हामीलाई नै वेवास्ता गरिन्छ — OSNepal

महिला प्रदेशसभा सदस्यको गुनासो-हामीलाई नै वेवास्ता गरिन्छ

LC (KTM) May 04, 2024 0

देउखुरी (दाङ), २२ वैशाखः लुम्बिनी प्रदेशसभाका महिला सदस्यहरूले प्रदेशका आवधिक योजना निर्माण र बजेट विनियोजनमा आफूहरूलाई नै वेवास्ता गर्ने गरिएको गुनासो गर्नुभएको छ ।

सञ्चारिका समूह लुम्बिनी प्रदेशको आयोजना र संयुक्त राष्ट्रसंघीय काविकास कार्यक्रम (युएनडिपी) को सहकार्यमा शुक्रबार दाङको भालुवाङमा भएको लुम्बिनी प्रदेशको दोस्रो पञ्चवर्षीय योजनामा लैङ्गिक समानता र सामाजिक समावेशीकरणका सवालमा लुम्बिनी प्रदेशसभाका सदस्यबीच अन्तरक्रिया कार्यक्रममा उहाँहरूले त्यस्तो गुनासो गर्नुभएको हो । बजेट योजना तर्जुमा गर्दा र कुनै पनि आवधिक योजना बनाउँदा आफूहरूलाई बेवास्ता गर्ने गरिएको भन्दै उहाँले आपत्तिसमेत जानाउनुभएको थियो ।

कार्यक्रममा प्रदेश मामिला समिति सभापति दिलकुमारी बुढाले योजना निर्माण र बजेट विनियोजन कसरी हुन्छन् भन्ने विषयमा आफूहरूलाई नै जानकारी नदिइनु दुर्भाग्यपूर्ण भएको बताउनुभयो ।

लेखा समिति सभापति माया पुनले सरकारमा नभएकाहरूलाई मात्र नभई सरकारमा भएका दलका महिलालाई पनि हरेक कुरामा पछाडि पारिने गरिएको भन्दै अब महिला प्रदेशसभा सदस्यहरू एकजुट भएर भूमिका खोज्नुपर्ने धारणा राख्नुभयो ।
प्रदेश मामिला तथा कानुन समितिका पूर्वसभापति दामा शर्माले कानुन निर्माणमा गम्भीर हुन आग्रह गर्दै सबैले एकतावद्ध भएर आजाज उठाउनुपर्नेमा जोड दिनुभयो । पूर्वकृषिमन्त्री आरती पौडेलले नीति निर्माणदेखि योजना तर्जुमाका कार्यक्रममा अब महिला आफैँ चनाखो हुनुपर्ने बताउनुभयो ।

त्यस्तै, नेपाली कांग्रेसका सचेतक निमा गिरीले पिजन हाउसमा राखिएका योजना पढ्नुपर्ने र आफ्नो अधिकारप्राप्तिमा चनाखो हुँदै आवाज उठाउनुपर्ने बताउनुभयो । प्रदेशसभा सदस्यद्वय मीना श्रेष्ठ र सुशीला नेपाली वादीले योजना पेस गर्दा कहाँ–कसरी जाने भन्ने विषयमा केही थाहा नभएको बताउनुभयो । सीमान्तकृत, दलितका विषयमा योजना पेस गरेको तर कुनै पनि कार्यक्रम पर्न नसकेको बताउनुभयो ।

कार्यक्रममा सञ्चारिका समूह लुम्बिनी प्रदेशका अध्यक्ष अमृता अनमोल, पूर्वस्वास्थ्यमन्त्री एवम् प्रदेशसभा सदस्यहरू इन्द्रजीत चौधरी, कृष्णा कुस्मा थारू, इन्द्रकुमारी गहतराज, रामबहादुर नेपाली, लगायतले धारणा राख्नुभएको थियो ।
लुम्बिनी प्रदेश महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती अधिकारीले महिलाहरू अर्थपूर्ण सहभागिताको कुरा उठिरहेका बेला नेतृत्वमा रहेका महिलाहरूकै गुनसो रहने अवस्था आउन नदिने गरी काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर