सहकारीले जनता डुबाउँदा पनि किन सहकारी विभाग निरीह — OSNepal

सहकारीले जनता डुबाउँदा पनि किन सहकारी विभाग निरीह

LC (KTM) November 01, 2022 0

रुषा थापा- काठमाडौँको मिनभवन स्थित रहेको सहकारी विभागमा अहिले दिनहुँ सयौँ मानिसहरु दुई ओटा समस्या लिएर आउँछन । एउटा, हामीले सहकारीमा जम्मा गरेको पैसा सहकारीले फिर्ता गरेन वा भाग्यो त अर्को सहकारीको सञ्चालक वा कार्यसमितिबाट मेरो नाम हटाइदिनुस् । सहकारीले पैसा फिर्ता नगर्दा वा भाग्दा त्यहाँ आउने मानिसहरु रुदैँ वा कराउँदै उजुरी गरेको देख्दा सबैको मन दुख्छ ।

पीडितहरु सहकारीमा आफुले राखेको पैसा २० हजारदेखि ७ करोडसम्म फसेको भन्दै आँखाबाट आँसु झार्छन् । तर सर्वसाधारणहर यसरी फस्दा वा डुबदा पनि विभागका महानिर्दैशक रुद्रप्रसाद पण्डित कानमा तेल हालेर बसिरहेका छन् । उनी न पैसा फिर्ता नदिने सहकारीमाथि अनुगमन नै गर्छन् न जनताको पैसा लिएर भाग्ने सहकारीलाई कारबाही नै गर्छन् ।

विभागका महानिर्दैशक पण्डित जनताले तिरेको करबाट तलब खान्छन्, सरकारी गाडी चढ्छन् तर तीनै जनताको काम गर्दैनन् । सहकारीमा पैसा राख्ने मानिसहरु विभाग आएर रोएको वा कराएको देख्दा कहिले झुकिएर पनि सहकारीमा पैसा राख्नुहुदैँन भनेर बुझ्रनुपर्छ । सहकारीमा पैसा राख्नु भनेको जुँवा खेल्नु रहेछ । दिनमा सयौँ मानिसहरु सहकारीले पैसा फिर्ता दिएन वा साँवा र ब्याज नै दिएन भनेर सहकारी विभागमा धाउँछन्, गुनासो गर्छन् अनि फर्किन्छन् । तर सहकारी विभागका महानिर्दैशक पण्डित भन्छन्, होइन सबै सहकारी यस्ता छैनन्, कुनै कुनै सहकारीमात्र भागेका हुन् । यत्रो सर्वसाधारण सहकारीबाट पिडित हुँदा पनि विभागका महानिर्दैशक सहकारीकै गुनगान गाउँछन् ।

साथै पिडितहरुको कुरा नसुन्ने, पैसा फिर्ता नदिने वा भाग्ने सहकारीलाई कारबाही नगर्ने र जनतालाई पनि सहकारीमा पैसा नराख्नुस् भनेर सूचना जारी नगरेको देख्दा त्यहाँ आउने सर्वसाधारणहरु विभागका महानिर्दैशक सहकारीसँग मिलेको बताउँछन् । पछिल्लो समय बजारमा सबै सहकारीहरु डुबिसकेको वा भागिसकेको सुनिन्छ भने दिनहुँ १० देखि २० ओटा सहकारीहरु भागिरहेका छन् । साथै सहकारीहरु यसरी डुबेपछि सहकारीका सञ्चालक वा कार्यसमितिमा बसेका मानिसहरु जनतालाई आफ्नो निजी सम्पत्ति बेचेर पैसा फिर्ता गर्नुपर्छ भनेर सहकारी विभागमा दिनहुँ कार्यसमितिबाट नाम हटाउन धाइरहेका छन् । साथै कतिले त विभागका महानिर्दैशकलाई १० लाखदेखि ५० लाखसम्म दिएर कार्यसमितिबाट आफ्नो नाम हटाइरहेको भनेर विभागकै एक कर्मचारी नाम नबताउने सर्तमा बताउँछन् ।
पहिलापहिला सहकारीको कार्यसमिति वा सञ्चालकमा बस्न मानिसहरुको हानाथाप हुने गथ्र्यो भने अहिले सहकारीको कार्यसमितिबाट आफ्नो नाम हटाउन सहकारी विभागमा मानिसहरुको लर्को लागेको पाइन्छ ।

लामोसमयदेखि सहकारी विभागमा अध्ययन गर्दा त्यहाँ प्राय आइरहने सर्वसाधारणहरु बताउँछन् , हामी यहाँ ६ महिनादेखि धाइरहेका छौँ तर पनि विभागले हाम्रो आवाज सुनिरहेको छैन । साथै विभागका महानिर्दैशक र सहकारीका सञ्चालकहरु मिलेका छन् र हामीलाई हाम्रो पैसा फिर्ता गरेका छैनन् भनेर समेत गुनासो गर्छन् । सहकारीबाट डुब्ने त डुबिनै हाले तर अझैँपनि विभाग सहकारीमा पैसा नराख्नुस्, यसमा जोखिम छ भनेर जनतालाई सचेत गराउँदैन । सर्वसाधारणहरु सहकारी भाग्दैन भनेर दैनिक आफुसँग भएको धेरथोर रकम जम्मा गर्छन् तर सहकारी कतिखेर भाग्छ र कसरी भाग्छ भनेर कसैले थाहा हुदैँन ।

विभाग भन्छ, देशैभरि ३५ हजार २ सय ४० ओटा सहकारीहरु दर्तामा रहेका छन् , साथै ९२ लाख जनताले १२ खर्ब रकम ती सहकारीमा जम्मा गरेको गर्छन् तर यो १२ खर्ब रुपैँया आज बालुवामा पानी हाल्या बराबर भएको छ । सहकारीले यी रकम सबै डुबाइसकेको छ वा लिएर भागिसकेको छ । सहकारीले पैसा फिर्ता नगरेपछि सहकारीमा पैसा राख्नेहरुलाई अहिले मर्नु कि बाँच्नु भइरहेको छ ।

यिनीहरुलाई न दिनमा भोक नै लाग्छ , न रातमा निन्द्रा । पछिल्लो समय सहकारीमा पैसा राखेर डुब्नेमा बाटोमा तरकारी बेच्नेदेखि नेता वा सरकारी कर्मचारीसमेत परेका छन् । अहिले सहकारीको कार्यालयमा जाँदा त्यहाँ अध्यक्ष र सञ्चालक भेटिदैँन तर पैसा निकाल्नेको लर्को हुन्छ । साथै सहकारीको कार्यालयमा गएर बस्दा त्यहाँ आउने मानिसहरु भन्छन्, महिनौँ दिन भइसक्यो पैसा निकाल्न आएको तर अहिलेसम्म एक सुको फिर्ता पाएका छैनौँ ।

साथै सहकारीले पैसा फिर्ता नगर्दा न हामीले दशैँतिहार नै मनाउन सक्यौँ न आफ्नो गाउँघर नै जान पायौँ । सरकारले सहकारीमा पैसा राख्नुहुदैँन भनेर सुचना जारी नगरेपनि अब जनताले सहकारीमा पैसा राख्नुहुदैँन । सहकारीहरुले मिटरब्याजमा पैसा लगानी गरे, जसले गर्दा आज आफैँ फसे । उदाहरणका लागि डेढ करोड मूल्य पर्ने घरजग्गा , गाडी वा सेयर धितो राखेर १ करोड कर्जा दिने, त्यसमा पनि १० लाख घुस, ५ लाख सेवाशूल्क लिने अनि ४८ प्रतिशतब्याज लिने ।
यसरी मिटरब्याजमा लगानी गरेको कर्जाको धितोको आज मूल्य घट्यो वा डेढ करोड मूल्य पर्ने घरजग्गा, गाडी वा सेयर लाखमा आयो तर १ करोडको कर्जा साँवाब्याज नतिर्दा डेढ करोड पुग्यो । त्यसैले पनि सहकारीहरु चुलुम्मै डुब्यो । साथै यिनीहरुले नाफा खान सबै कर्जाको लगानी घरजग्गा, गाडी र सेयरमा गरेका थिए ।
एक करोड पर्ने घरजग्गा अहिले लाखमा बिक्री हुदैँन भने ४ हजार कित्तामा किनेको सेयर सय रुपैँयामा बिक्री हुदैँन । साथै यिनीहरुले बिनाधितो जवानीमा कति पसलेहरुलाई ऋण दिएका थिए तर तिनीहरु पनि व्यापारमा डुबेर वा ऋण तिर्न नसकेर भागिसकेका छन् । अहिले सहकारीमा पैसा राख्ने वा बचत गर्नेहरुले हाम्रो पैसा डुब्यो भनेर थाहा पाइसकेका छन् । त्यसैले पनि सहकारीले ३६ प्रतिशत र बैंकले २० प्रतिशत डिपोजिटको ब्याज दिन्छु भन्दा पनि जनता आफ्नो पैसा राख्न तयार छैनन् । सहकारीमा पैसा राख्नेहरुको पैसा डुब्दा अहिले कति मानिसहरु हासिँरहेका छन् तर हामीले पनि हाम्रो जीवनभरको कमाइ राखेको बैंक वा सहकारी कतै डुबि त राखेको छैन भनेर हामी अध्ययन गर्दैनौँ । त्यसैले अब आफुले पनि पैसा राखेको सहकारी वा बैंकको अध्ययन गरौँ र समयमै आफ्नो रकम सुरक्षित राखौँ । किनभन्दा भोलिका दिन हामी पनि त्यसरी नै डुब्न सक्छौँ ।

विज्ञहरु भन्छन्, अबको एकवर्षमा सबै सहकारीहरु भाग्छन् वा डुब्छन् । साथै सहकारीले नाफा कमाउन लगानी गर्ने ठाउँ पनि छैनर ठाउँ भएपनि पैसा छैन । त्यस्तै सहकारीबाट ऋण लिनेहरुले पनि मिटरब्याजकै कारण हामी ऋण तिर्न सक्दैँनौँ भनेर हात उठाइसकेका छन् वा धितो नै छोड्दिएका छन् । पछिल्लो समय सहकारीहरु घाटामा गएकाले यिनीहरुले न कर्मचारीलाई नै तलब दिन सकेका छन् न घरभाडा नै तिर्न सकेका छन् ।
कति सहकारीहरुले नाफा वा बढी ब्याज, घुस, सेवाशुल्क खानका लागि सबै कर्जाको लगानी घरजग्गा, गाडी र सेयरमा गरेका छन् , जसले गर्दा आज यिनीहरु चुलुम्मै डुबेका हुन् । अहिलेपनि कति सहकारीहरुले आफ्रनै भवन छ भन्दै सर्वसाधारणको रकम फिर्ता गरेका छैनन् वा बढी ब्याजको प्रलोभन देखाइरहेका छन् ।
त्यस्तै अहिले सहकारीका कति कर्मचारीहरुले तलब नपाएर जागिर छोडिरहेका छन् भने कतिले अब सहकारी पनि डुब्यो र हामी पनि जेल जानुपर्छ भनेर त्रासले जागिर छोडिरहेका छन् । घरघरमा धानको भकारी, टोलटोलमा सहकारी भन्ने नारा अहिले जनता ठग्न वा लुट्न बनाइएको जस्तो भएको छ ।
अहिले जसको पनि मुखमा एउटै कुरा सुनिन्छ, सहकारीले मेरो पैसा फिर्ता गरेन, सहकारीले मलाई डुबाइदियो । तर सहकारी संस्थाहरुको अनुगमन न सहकारी विभागले नै गर्छ न वडा वा नगरपालिकाले नै । सहकारीहरु नाफा हुनुन्जेल चल्छ त घाटामा गएपछि भाग्छ वा डुब्छ । सहकारीकै कारण कतिको उठीँबास भयो त कति मर्नु कि बाँच्नु अवस्थामा पुगे ।
पछिल्लो समय जनता भन्छन्, सहकारी भनेको ठग वा चोर हो , यिनीहरु जनता ठग्न नै खोलिएका हुन् । साथै सहकारी विभागले सहकारीलाई जनतालाई सेवा दिन लाइसेन्स नदिइ जनता ठग्न दिएको हो भनेर बताउँछन् । सहकारीकै कारण अहिले प्रत्येकको घरमा रुवाबासी चलिरहेको छ भने सहकारीमा पैसा राख्नेहरु सबै डुबेका छन् । सहकारीमा आफ्नो पैसा करोड छ र चेक लाखको लिएर गएमा महिनामा ५ हजार लैजानुस् भनिन्छ ।

सहकारीमा पैसा राख्दा धेरैको उठँीबास हुने भएको छ वा धेरैको विस्थापन हुने दिन आएको छ । त्यस्तै यता अहिले सहकारीमा व्यापारी वा सर्वसाधारणले पैसा राख्न छोडिसकेका छन् । पहिला एक बजारप्रतिनिधिले दिनहुँ बजारबाट लाखदेखि ३ लाखसम्म उठाउने गर्थे भने अहिले ५ हजारसमेत उठाउन सक्दैँनन् । जसले पनि भन्छ, सहकारीमा पैसा नराखौँ, सहकारी भाग्छ ।

अब सहकारीलाई जनताले विश्वास गर्दैनन् । साथै अब सहकारीहरुले नाफा कमाउँदैनन् , बरु झन् झन् घाटामा गएर डुब्छन् । सर्वसाधारणहरु बताउँछन्, अब आफ्नो भएको पैसा पनि सहकारीबाट निकालौँ र अरुलाई पनि जानकारी दिऔँ । साथै नयाँ खाता नखोलौँ । सहकारीमा ९५ प्रतिशत पुराना खाता हुनेले आफ्नो खाता बन्द गरिसकेका छन् र नयाँ खाता खोल्ने कोही छैन ।

पछिल्लो समय सहकारीहरु डुबेकाले वा जनताको पैसा फिर्ता गर्न नसकेकाले यिनीहरु एकआपससँग मर्जर गरिरहेको नाटक गरिरहेका छन् । तर मर्जर गर्न पनि सहकारी विभागबाट स्वीकृति लिनुपर्छ तर यिनीहरुले विभागबाट स्वीकृति नै नलिइ आफुखुशी मर्जर गरिरहेका छन् । यिनीहरुले जनताको पैसा फिर्ता गर्नुपर्छ भनेर यस्तो नाटक गरिरहेका हुन् ।

सर्वसाधारणहरुले आफ्नो बच्चालाई एक छाक मिठो खान नदिएर सहकारीमा जम्मा गरेको पैसा आज सहकारीले डुबायो । कति सहकारीका सञ्चालकहरु त जनताको पैसा लिएर रातारात भागेका छन् । अब जनताले यिनीहरुलाई कहाँ खोज्ने ? सहकारीकै कारण कतिको घरव्यवहार बिग्रिएको छ वा सम्बन्ध विच्छेद भएको छ । त्यसैले अब हामीले पनि ब्याजको लोभमा सहकारीमा आफ्नो जीवनभरको कमाइ नराखौँ, किनभन्दा आजको ब्याजले भोलि हाम्रो साँवा नै डुबिन सक्छ ।
अहिले सहकारीमा आफ्रनै पैसा निकाल्न गएमा पनि पैसा फिर्ता पाइदैँन ।

महिनौँ दिनसम्म सहकारीमा आफ्नो पैसा निकाल्न धाउँदा पनि खाली हात फर्किनु पर्छ । बुढोपाकाले भन्थे, हातले पैसा दिँदा, खुट्टालाई दुःख हुन्छ । अहिले ठ्याकै त्यहँी भएको छ । सहकारीहरुले सर्वसाधारणहरुको पैसा त घरघरमा आएर उठाए तर फिर्ता गर्ने बेला दाँतबाटै पसिना निकाले । कैयौँ सहकारीमा त कति सर्वसाधारणले जम्मा गरेको रकम सहकारीका कर्मचारी वा सञ्चालकले हिनामिना गरेको वा ठगेर खाएको सुनिन्छ । सहकारीबाट अहिले करोडौँ जनता पिडित छन् र खर्बो रकम डुब्दै छ । सहकारीले पैसा खाइदिएर वा डुबाइदिएर करोडपति सडकपति हुन पुग्दै छन् । त्यसैले अब हामीले पनि हाम्रो पैसा सहकारी वा बैंकमा छ भने समयमै ध्यान दिऔँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर