यो निर्वाचन गणतन्त्रलाई संस्थागत गर्ने र राजतन्त्र ब्युँताउन चाहनेबीचको जनमत सङ्ग्रह हो : अध्यक्ष दाहाल — OSNepal

यो निर्वाचन गणतन्त्रलाई संस्थागत गर्ने र राजतन्त्र ब्युँताउन चाहनेबीचको जनमत सङ्ग्रह हो : अध्यक्ष दाहाल

LC (KTM) November 16, 2022 0

खोटाङ-नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न मङ्सिर ४ गते हुने आमनिर्वाचन गणतन्त्रको रक्षा गर्ने र राजतन्त्रलाई ब्युँताउन चाहनेबीचको जनमत सङ्ग्रह भएको बताउनुभएको छ ।

वाम–लोकतान्त्रिक गठबन्धन खोटाङले आज दिक्तेलमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष ‘प्रचण्ड’ले आसन्न निर्वाचनमा संविधान, लोकतन्त्र र सङ्घीयताको रक्षा गर्ने एकातिर तथा संविधान उल्ट्याउन र राजतन्त्र ब्युँताउन चाहनेबीचको प्रतिस्पर्धा भएको उल्लेख गर्नुभयो ।

पूर्वप्रधानमन्त्री दाहालले आगामी निर्वाचनमा देशभर सत्ता गठबन्धनमा आबद्ध राजनीतिक दलको पक्षमा जनलहर देखा परिसकेकाले राजतन्त्रलाई ब्युँताउन चाहनेको अभिष्ट पूरा नहुने दाबी गर्नुभयो । “देशभर भएका कार्यक्रममा जनताको अपार उपस्थितिले सत्ता गठबन्धनका उम्मेदवारको विजयलाई सुनिश्चित गरिसकेको छ”, उहाँले भन्नुभयो, “खोटाङको विकास र समृद्धि तथा जिल्लाको नेतृत्वको निम्ति, पार्टी, गठबन्धन र सरकारको तर्फबाट पूर्ण सहयोग हुने प्रतिबद्धता व्यक्त गर्दछु ।”

छिमेकी जिल्ला भोजपुर हुँदै हेलिकप्टरबाट खोटाङ आउनुभएका पूर्वप्रधानमन्त्री दाहालले प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामकुमार राई ‘पासाङ’ केन्द्रको मन्त्री बन्ने सम्भावना रहेको बताउनुभएको छ । “रामकुमार राई प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुनुहुन्छ । उहाँ अहिले १ नं प्रदेश सरकारको खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्रीसमेत हुनुहुन्छ । तपाईहरूले विजय गराउनुभयो भने केन्द्रको मन्त्री हुने पूरै सम्भावना छ”, उहाँले भन्नुभयो, “तपाईहरुको विकास र समृद्धिको आकांक्षाप्रति प्रतिबद्ध हुँदै र यो गठबन्धनलाई जिताएर प्रतिगमनलाई सदाका लागि हराउनुपर्छ । राजनीतिक स्थायित्व र विकासको नयाँ युगतिर देशलाई लानुछ । यसमा तपाईहरुको सहयोग आवश्यक छ ।”

सोही कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले खोटाङका प्रत्येक वडामा बाह्रै महिना चल्ने सडक सत्ता गठबन्धनमा आबद्ध राजनीतिक दलले बनाउने आश्वासन दिनुभएको छ । “नेकपा (एमाले)का अध्यक्ष ओली जी कुरा मात्र गर्नुहुन्छ । काम गर्नुहुन्न, त्यसैले खोटाङमा सबै वडामा बाह्रै महिना चल्ने सडक निर्माणको काम गठबन्धन सरकारले गर्नेछ”, उहाँले भन्नुभयो, “गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा प्रदान पनि सत्ता गठबन्धनले नै गर्ने भएकाले गठबन्धनका उम्मेदवारलाई मत दिएर अत्यधिक बहुमतले विजयी थराउनुहोस् । केन्द्रबाट उचित व्यवस्थापन हुन्छ ।”

प्रवक्ता डा महतले आसन्न निर्वाचनमा एउटाले अर्कालाई सहयोग गर्न गठबन्धन बनेको बताउनुभएको छ । “आसन्न निर्वाचनमा पार्टीलाई समानुपातिकमा मत दिन हामी सबै जान्छौँ । सोही बेला गठबन्धनका उम्मेदवारलाई प्रत्यक्षतर्फ मत दिएर एकअर्कालाई सहयोग गरौँ”, उहाँले भन्नुभयो, “अर्को जिल्लामा उसले अर्कोलाई सहयोग गर्नेछ । गठबन्धन भनेको नै एकले अर्कोलाई सहयोग गर्न बनेको हो ।”

कांग्रेस प्रवक्ता डा महतले खोटाङमा पर्यटकीय महत्व बोकेको त्रिधार्मिकस्थल हलेसी, किराँत सभ्यताको उद्गमस्थल तुवाचुङ–जायाजुङसमेत भएकाले त्यसको समग्र विकास सत्ता गठबन्धनले गर्ने बताउनुभयो । सो चुनावीसभालाई सम्बोधन गर्न नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव गङ्गालाल तुलाधर आउनुहुने बताइए पनि अस्वस्थताका कारण नआउनुभएको जनाइएको छ ।

एउटा प्रतिनिधिसभा र दुईवटा प्रदेशसभा रहेको जिल्लामा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीबीच चुनावी तालमेल भएको छ । प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवं १ नं प्रदेश सरकारका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री रामकुमार राई, प्रदेशसभा (१)मा एकीकृत समाजवादीका १ नं प्रदेश समन्वय समिति संयोजक वीरबलकाजी राई र प्रदेशसभा (२) मा कांग्रेसका १ नं प्रदेश समितिका महामन्त्री भूपेन्द्र राई उम्मेदवार रहनुभएको छ ।

एक लाख ४२ हजार सात सय ९२ मतदाता रहेको जिल्लामा वाम–लोकतान्त्रिक गठबन्धन र नेकपा (एमाले)का उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ । एमालेबाट प्रतिनिधिसभा सदस्यमा पोलिटब्युरो सदस्य एवं निवर्तमान सांसद विशाल भट्टराई, प्रदेशसभा (१)मा प्रदेश समिति सदस्य एवं संविधानसभा सदस्य पाँचकर्ण राई ‘पिके’ र प्रदेशसभा (२)मा जिल्ला अध्यक्ष रामप्रसाद दङ्गाल चुनावी मैदानमा हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर