माडीको वैकुण्ठधाममा बालाचतुर्दशीको मेला लाग्ने — OSNepal

माडीको वैकुण्ठधाममा बालाचतुर्दशीको मेला लाग्ने

LC (KTM) November 21, 2022 0

चितवन-चितवनको माडीस्थित वैकुण्ठधाममा बालाचतुर्दशीको अवसरमा मेला लाग्ने भएको छ । मङ्गलबार बालाचतुर्दशीका दिन माडी नगरपालिका–६ स्थित वैकुण्ठधाममा मेला लाग्ने भएको हो । आफ्ना बुबाआमा नहुनेले पितृको मोक्ष प्राप्तिका लागि बालाचतुर्दशीको अघिल्लो दिन रातभर भजनकीर्तन गरी भोलिपल्ट बिहान वैकुण्ठधाम क्षेत्रमा शतबीज छर्ने र स्नान गर्ने प्रचलन रहेको छ ।

वैकुण्ठधाममा यस वर्ष बृहत् सांस्कृतिक कार्यक्रमको अयोजना गरिने भएको छ । विभिन्न जनजातिको झाँकीसहित स्थानीय कलाकारको प्रस्तुति रहने मेला व्यवस्थापन संयोजक राजकुमार परियारले जानकारी दिनुभयो । उहाँका अनुसार मेलामा आउनेले शतबीज छर्नुका साथै वैकुण्ठ ताल अवलोकन, माडीको पहिलो झोलुङ्गे पुल अवलोकन विभिन्न परिकारका खानेकुराको स्वाद लिन पाउनेछन् ।

धार्मिक पर्यटनको विकास र प्रवद्र्धनमा मेलाले टेवा पुग्ने उहाँको विश्वास छ । मङ्सिर कृष्ण चतुर्दशीका दिन परिवारभित्रका सदस्यको दिवाङ्गत आत्माको चिरशान्तिको कामना गर्दै धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो मिश्रित शतबीज मन्दिर वरपर छर्ने चलन छ । यसो गर्नाले पितृलाई अन्नको कमी नहुने र उनीहरुले सद्गति प्राप्त गर्ने धार्मिक विश्वास छ । मङ्सिर कृष्ण त्रयोदशीका दिन साँझबाट भोलिपल्ट सद्बीज छर्ने बेलासम्म आफ्ना पितृको नाममा बत्ती बाल्ने गरिन्छ ।

यस क्षेत्रलाई ऋषिमुनिले तपस्या गरेको, अष्टबक्र जन्मेको क्षेत्रको रुपमा लिइन्छ । बराह पुराणमा वैकुण्ठ तीर्थमा स्नान गरेमा पाप नाश हुने उल्लेख छ । श्रीराम वनबास जाने क्रममा यो क्षेत्रमा स्नान गरेको धार्मिक कथन छ । माडीको खरकट्टास्थित वैकुण्ठचोकबाट करिब साढे तीन किलोमिटरको दुरीमा वैकुण्ठ मेलास्थल पुगिन्छ । मेलास्थलबाट करिब २० मिनेटको पैदलयात्रापछि ताल हेर्न पाइन्छ । घाँघरखोलाको शिरमा रहेको यो तालको शिरमा दुई छहरा छन् । चारैतिरको हरियालीले तालको दृश्यलाई नै लोभलाग्दो बनाएको छ । तालको दक्षिणतर्फ मनै लोभ्याउने गुफा छन्, धनलक्ष्मी छहरा छ, खोली दोभान छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर