कपिलवस्तुमा १० हजारभन्दा बढी आँखाका बिरामी — OSNepal

कपिलवस्तुमा १० हजारभन्दा बढी आँखाका बिरामी

LC (KTM) December 13, 2022 0

कपिलवस्तु-कपिलवस्तुमा दृष्टिविहीनताको अवस्था डरलाग्दो देखिएको छ । जिल्लाको १० वटैपालिका गरिएको जाँचबाट आँखाको बिरामी सङ्ख्यामा वृद्धि देखिएको हो । कपिलवस्तुमा १० हजार नौ सय ९७ आँखाका बिरामी देखिएका छन् । नेपाल नेत्र ज्योति सङ्घ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जले आज शिवपुरमा पत्रकार सम्मेलनको आयोजना गरी कपिलवस्तु जिल्लामा आँखाको बिरामीको स्थितिको बारेमा तथ्याङ्क सार्वजनिक गरेको हो ।

जिल्लामा शिवराज नगरपालिकामा सबैभन्दा बढी आँखाको बिरामी रहेको बताइएको छ । शिवराजमा एक हजार छ सय ७९ आँखाको बिरामी रहेको तथ्याङ्कमा देखाइएको छ । वाणगङ्गा नगरपालिकामा एक हजार छ सय २४, बुद्धभूमि नगरपालिकामा एक हजार चार सय २९, कृष्णनगर नगरपालिकामा एक हजार तीन सय ७८ र महराजगञ्ज नगरपालिकामा एक हजार दुई सय छ आँखाको बिरामी रहेको बताइएको छ ।

जिल्लाको मायादेवी गाउँपालिकामा एक हजार ६१, शुद्धोधन गाउँपालिकामा नौ सय ९४, यशोधरा गाउँपालिकामा आठ सय १३ र विजयनगर गाउँपालिकामा आठ सय १३ आँखाका बिरामीको पहिचान भएको नेपाल नेत्र ज्योति सङ्घ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका प्रमुख प्रशासक शमशेर थापाले जानकारी दिनुभयो ।

प्रशासक थापाले विभिन्न समयमा गरिएको जाँचबाट बिरामीको तथ्याङ्क प्राप्त भएको जानकारी दिनुभयो । उहाँले सबै बिरामीको शल्यक्रियाबाट उपचार गर्नुपर्ने बताउनुभएको छ । पालिकास्तरमा बिरामीको उपचारका लागि सहयोगको अपेक्षा गरिएको उल्लेख गर्नुभयो । अस्पतालले पालिकाको सहयोगमा निःशुल्क उपचार गर्दै आएको छ । उहाँले आँखाको हेरचाह र सरसफाइ विशेष ध्यान पु¥याउन आग्रह गर्नुभयो ।

नारायणी आँखा अस्पताल बहादुरगञ्जका प्रशासकीय अधिकृत जसराज विश्वकर्माले अस्पातलले स्थापना कालदेखि हालसम्म नौ लाख ३० हजार छ सय २२ जनाको ओपिडी परीक्षण गरिएको र एक लाख २३ हजार सात सय आठ जनाको शल्यक्रिया गरिएको जानकारी दिनुभयो । उहाँले बजेटको अभावमा उपकरण खरिद उपचारमा समस्या सिर्जना भइरहेको बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर