फिफा विश्वकपको फाईनलमा एमबाप्पेले दुई मिनेटमा दुई गोल गरेपछि खेल रोमाञ्चक मोडमा — OSNepal

फिफा विश्वकपको फाईनलमा एमबाप्पेले दुई मिनेटमा दुई गोल गरेपछि खेल रोमाञ्चक मोडमा

LC (KTM) December 18, 2022 0

कतारमा जारी फिफा विश्वकप फुटबलको उपाधीका लागि अहिले अर्जेन्टिना र फ्रान्सबीच प्रतिष्पर्धा भईरहेको छ। दुबै टिमबीचको खेल एकदमै रोमान्चक मोडमा पुगेको छ । दुबै टिमले दुई दुई गोलको बराबरी गरेका छन् । दोस्रो हाफमा फ्रान्सका लागि दुबै गोल केलियन एम्बापेले गरेका हुन् ।

यसअघि पहिलो हाफमा अर्जेन्टिनाले २ गोल गरेको थियो । लुसिल खेलको २३ औ मिनेटमा मेस्सीले पेनाल्टी मार्फत गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।त्यस्तै अर्जेन्टिनाका लागि ३६ औ मिनेटमा एन्जेल डि मारियाले उत्कृष्ट गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । यसैबीच जारी विश्वकपमा ६ गोल गरेका मेसीले विश्वकपमा गोल संख्या १२ पुर्याउँदै पेलेसँग बराबरी गरेका छन् ।

दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिना र युरोपियन राष्ट्र फ्रान्स तेस्रो पटक विश्वकप उपाधि उचाल्ने योजनासहित खेलिरहेका छन् । दुबै देशले हालसम्म समान दुई दुई पटक विश्वकपको उपाधी उचालिसकेका छन् । अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्वकप ट्रफी हात पारेको थियो । फ्रान्सले सन् १९९८ र २०१८ मा विश्वकप ट्रफी चुमेको थियो । लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना छैटौं पटक विश्वकपको फाइनल पुगेको हो ।

मेस्सीका लागि कतार विश्वकप अन्तिम विश्वकप समेत रहेको छ । मेस्सीकै लागि भएपनि अर्जेन्टिनालाई विश्वकपको उपाधी जित्नै पर्ने दबाब रहेको छ । यता, ह्युगो लोरिसको कप्तानीमा रहेको फ्रान्स लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुगेको हो । साविक विजेता समेत रहेको फ्रान्स उपाधी रक्षा गर्ने पक्षमा रहेको छ ।

अर्जेन्टिना र फ्रान्सबीच हालसम्म १२ खेलमा प्रतिस्पर्धा भएको छ । जसमा अर्जेन्टिनाले ६ खेल जितेको छ । फ्रान्सले ३ खेल जित्दा ३ खेल बराबरीमा सकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर