फ्रान्सका एम्बाप्पे बने ५६ वर्षपछि विश्वकपमा ह्याट्रिक गर्ने खेलाडी — OSNepal

फ्रान्सका एम्बाप्पे बने ५६ वर्षपछि विश्वकपमा ह्याट्रिक गर्ने खेलाडी

LC (KTM) December 19, 2022 0

काठमाडौं । यतिबेला विश्वभर कतार विश्वकपको चर्चा छ । कतार विश्वकपको उपाधि लियोनेल मेस्सीको अजेन्टिनाले जितेका बेला पनि फ्रेन्च फरवार्ड किलियान एम्बाप्पे थप चर्चामा छन् । उनले विश्वकपको फाइनलमा ह्याट्रिक गरेपछि उनको चर्चा फेरी एक पटक चुलिएको हो ।

कतारमा सम्पन्न विश्वकपको फाइनलमा आइतबार अर्जेन्टिनाविरुद्ध एम्बाप्पेले ह्याट्रिक हानेका हुन्। यसअघि सन् १९६६ मा इङ्लिस खेलाडी जियोफ हर्स्टले वेस्ट जर्मनीविरुद्धको फाइनलमा ह्याट्रिक गरेका थिए। ५६ वर्षपछि विश्वकपमा ह्याट्रिक गर्ने खेलाडी बन्दै एम्बाप्पेले आफ्ना संभावना र फ्यानहरुको मनमा स्थान फेरी पनि बढाएका छन् ।

त्यस्तै अर्जेन्टिनाका लिओनल मेसी यो विश्वकपमा त झनै सुपरस्टार नै बन्न पुगे । विश्वकप ट्रफी उचाल्दै करियरलाई सार्थक बनाएका मेसीले यस पटक विश्वकपमा कीर्तिमानै कीर्तिमान बनाउन सफल भए । ३५ वर्षीय मेसीले विश्वकप ट्रफी चुम्लाई १६ वर्ष मिहिनेत गर्नुपर्यो ।

उनले सर्वाधिक २६ खेल खेल्दै विश्वकपको ९२ वर्षे इतिहासमा मेसी दुई पटक गोल्डेन बल जित्ने पहिलो खेलाडीसमेत बनेका छन् । यसअघि सन् २०१४ मा फाइनल पुग्दा पनि मेसीले गोल्डेन बल जितेका थिए ।

कतारमा अर्जेन्टिनालाई च्याम्पियन बनाउँदा प्रतियोगिताकै उत्कृष्ट खेलाडी बन्दै मेसीले दोस्रो पटक गोल्डेन बल जितेका हुन् । त्यस्तै अर्को किर्तीमानमध्ये मेसीले विश्वकपमा कप्तानको रुपमा सर्वाधिक १९ खेल खेलेका छन् ।

फाइनलमा फ्रान्सविरुद्ध दुई गोल गरेका मेसी ७ गोलसहित सर्वाधिक गोल गर्नेमा भने दोस्रो स्थानमा छन् । उनी पाँच फरक विश्वकपमा गोलका लागि असिस्ट गर्ने पहिलो र एक मात्र खेलाडी हुन् । मेसीले विश्वकपमा सर्वाधिक २ हजार ३१४ मिनेट खेलेका छन् ।

उनले इटलीका पाउलो माल्दिनीको नाममा रहेको २ हजार २१७ मिनेट खेल्ने कीर्तिमान तोडेका हुन् । फ्रान्सविरुद्ध फाइनलमा २४ मिनेट खेलेपछि नै मेसीले कीर्तिमान तोडेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर