गण्डकी प्रदेशस्तरीय पुरुष भलिबलमा ११ वटै जिल्लाको सहभागिता रहने — OSNepal

गण्डकी प्रदेशस्तरीय पुरुष भलिबलमा ११ वटै जिल्लाको सहभागिता रहने

LC (KTM) December 20, 2022 0

कास्की-नेपालको राष्ट्रिय खेल भलिबलको विकास गरी देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादनको लक्ष्यसहित पोखरामा गण्डकी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।गण्डकी प्रदेश भलिबल सङ्घको आयोजनामा पुस ६ देखि १० गतेसम्म पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा पहिलो प्रतियोगिता सञ्चालन हुन लागेको हो । सो प्रतियोगितामा गण्डकी प्रदेशका ११ वटै जिल्लाको सहभागिता रहने गण्डकी प्रदेश भलिबल सङ्घका अध्यक्ष नवीनकुमार गुरुङले आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

प्रतियोगितामा कास्की, तनहुँ, स्याङ्जा, बाग्लुङ, पर्वत, म्याग्दी, लमजुङ, नवलपुर, मनाङ र मुस्ताङ जिल्लाको सहभागिता छ । प्रतियोगिताको विजेताले रु दुई लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने छन् ।

यसैगरी उपविजेताले नगद रु एक लाख तृतीय हुने टोलीले रु ५० हजार र चौथो स्थान हासिल गर्ने टोलीले रु २५ हजार पुरस्कार पाउने गण्डकी प्रदेश भलिबल सङ्घका महासचिव टहलसिंह थापामगरले बताउनुभयो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले रु २० हजार पुरस्कार प्राप्त गर्दा उत्कृष्ट सर्भर, सेटर, ब्लकर, लिब्रो, स्पाइकर र प्रशिक्षकले जनही रु १०/१० हजार प्राप्त गर्नेछन् । विभिन्न जिल्लाले प्रतियोगिताका लागि टोली छनोट गरिसकेको बताइन्छ ।

नेपाल भलिबल सङ्घ र कास्की जिल्ला भलिबल सङ्घको व्यवस्थापन, प्रदेश खेलकुद परिषद् गण्डकी र राष्ट्रिय खेलकुद परिषद्को समन्वयमा भएको प्रतियोगिताबाट बचत रकमबाट महिला भलिबल खेलाडीको उत्पादनका लागि एकेडेमी सञ्चालन गर्ने लक्ष्य राखिएको महासचिव थापामगरले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर