सरकार बनाउन एमाले अनुचित खेलमा नलाग्ने — OSNepal

सरकार बनाउन एमाले अनुचित खेलमा नलाग्ने

LC (KTM) December 21, 2022 0

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार निर्माणको ‘अनुचित खेल’ मा आफ्नो पार्टी सहभागी नहुने बताएका छन् ।सरकार निर्माणका लागि रस्साकस्सी चलिरहेका बेला एमालेले मंगलबार काठमाडौंमा आयोजना गरेको बधाई तथा प्रशिक्षण कार्यक्रममा ओलीले भने, ‘एमाले राजनीतिक स्थिरताको पक्षमा छ । एमालेलाई राष्ट्र, राष्ट्रियता, विकास र समृद्धिको चिन्ता छ, जनताको भविष्यको चिन्ता छ, गन्तव्यको चिन्ता छ, सत्ता मोलमोलाइको होइन । त्यसैले एमाले सरकार बनाउने अनुचित लेनदेन, भागबन्डा र सेटिङमा सहभागी हुँदैन ।’

ओलीले अनुशासनहीनहरूको बोलवाला बढ्न थालेकाले यसबाट मुलुक अस्थिरतातर्फ धकेलिन सक्ने बताए । ‘मुलुकमा राजनीतिक अस्थिरता बढेको छ, अनुशासनहीनता बढेको छ, सामाजिक अवस्था खलबलिएको छ । मुलुकको अर्थतन्त्र गम्भीर मोडमा पुगेको छ,’ ओलीले भने ।

एमाले देशमा सबैभन्दा बढी जनताबाट रुचाइएकाले सर्वाधिक लोकप्रिय पार्टीका रूपमा स्थापित भएको उनले बताए । मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ एमालेले सबैभन्दा बढी मत पाएको छ । ओलीले प्रत्यक्ष निर्वाचनतर्फ सत्तापक्षले राज्यसत्ताको दुरूपयोग गरेर, संवैधानिक अंगहरूको दुरूपयोग गरेर एमालेलाई हराएको, पहिलो पार्टी हुन नदिएको दाबी गरे ।यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर