नारायणी अस्पतालमा १५ शैययाको आकस्मिक डायलासिस सेवा — OSNepal

नारायणी अस्पतालमा १५ शैययाको आकस्मिक डायलासिस सेवा

LC (KTM) December 22, 2022 0

वीरगञ्ज-पर्साको वीरगञ्जस्थित सरकारी स्वामित्वमा रहेको नारायणी अस्पतालमा आकस्मिक डायलासिस सेवा सञ्चालनमा आएको छ । राउण्ड टेबल नेपालको समन्वय र सिद्धार्थ बैंकको आर्थिक सहयोगमा अस्पतालमा १५ शैययाको डायलासिस सेवा सञ्चालनमा आएको हो । आइसियु कक्षका लागि भवन निर्माण गरी डायलासिस सेवा सुरु गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा वीरेन्द्र प्रधानले जानकारी दिनुभयो ।

नियमित सेवा लिइरहेका बिरामीको अवस्था जटिल बनेमा आकस्मिक डायलासिस कक्षमा उपचार गरिने छ । साथै निमोनियालगायत रोगका कारण एक्कासि मिर्गौलामा असर परेका बिरामीको समेत उपचार गरिने डा प्रधानले जानकारी दिनुभयो ।

आकस्मिक डायलसिस सेवा लिनेले केही शुल्क तिनुपर्ने र शुल्कबापत डायलासिस गर्ने क्रममा चाहिने विभिन्न सामग्री अस्पतालले नै प्रदान गर्ने डा प्रधानले बताउनुभयो । यसबाहेक नियमित डायलासिस गर्न आउने दीर्घ मिर्गौला रोगीको हकमा अन्य बेलाजस्तै निःशुल्क सेवा दिने उहाँको भनाइ छ । निजी अस्पतालले आकस्मिक डायलसिस सेवाको रु १० हजारदेखि रु १२ हजार शुल्क लिने गरेका छन् । नारायणी अस्पतालले जम्मा रु पाँच हजार शुल्क तोकेको छ ।

पन्ध्र शैयया रहेको आकस्मिक डायलसिसमा दुई शैयया एचआइभी सङ्क्रमितका लागि छुट्याइएको छ । अहिले नारायणी अस्पतालमा २० देखि २२ वटा डायलसिस मेसिन छन् । यी सबै मेसिन २४सै घण्टा तीन सिफ्ट गरी सञ्चालनमा आए ४० जनासम्मको दैनिक डायलासिस गर्न सकिने डा प्रधानले बताउनुभयो । उहाँले भवन निर्माणका लागि सिद्धार्थ बैंकले रु ५५ लाख र अन्य सहयोगी दाताबाट रु पाँच लाख सहयोग गरी कूल रु ६० लाखमा डायलासिस सेवा सञ्चालनमा आएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर