गोकर्णेश्वरमा श्राद्ध गर्नेको भीड — OSNepal

गोकर्णेश्वरमा श्राद्ध गर्नेको भीड

LC (KTM) December 23, 2022 0

काठमाडौँ-प्रत्येक वर्ष पौष कृष्ण औँसीका दिन गरिने दर्श एवं तीर्थ वा गया श्राद्ध गर्न आज बिहानैदेखि राजधानीको गोकर्णेश्वर पितृ तीर्थ धाममा भक्तजनको भीड लागेको छ । प्रत्येक वर्ष चान्द्रमास अनुसार पौष कृष्ण औँसीका दिन गरिने दर्श एवं तीर्थ वा गया श्राद्ध गर्न देशका विभिन्न भागबाट गोकर्णेश्वर उत्तरगया धाम क्षेत्रमा भक्तजन आएका छन् । बिहान छ बजेदेखि नै भक्तजन गोकर्णेश्वर क्षेत्रमा पितृका नाममा श्राद्ध गर्न आउन थालेको गोकर्णेश्वर नगरपालिका वडा नं. ४ का अध्यक्ष एवं मन्दिर क्षेत्र प्रबन्ध समितिका अध्यक्ष जयराम महतले राससलाई जानकारी दिनुभयो ।

मन्दिर क्षेत्रमा पितृका नाममा श्राद्ध, तर्पण एवं सिदादान गर्न आउने भक्तजनका लागि समितिले विशेष व्यवस्था गरेको जनाइएको छ । भक्तजनको भीडका कारण अहिले जोरपाटीबाट माथि जाने सडक जाम भएको छ । दक्षिणायनको अन्तिम औँसीमा आज पितृलाई श्रद्धापूर्वक तर्पण, सिदादान र पिण्डदान गरी श्राद्ध गरिँदैछ । पितृलाई कृष्ण पक्ष प्यारो हुने भएकाले पक्षको अन्तिम दिन अर्थात् औँसीमा श्राद्ध गर्ने परम्परा छ ।

सौरमास अनुसार माघे संक्रान्तिदेखि र चान्द्रमास अनुसार माघ कृष्ण प्रतिपदादेखि उत्तरायण शुरु हुन्छ । उत्तरायण शुरु हुनुअघिको औँसी अर्थात् पौष कृष्ण औँसीमा पितृलाई विधिपूर्वक आह्वान गरी श्राद्ध गर्ने परम्परा छ । वैदिक सनातन धर्मावलम्बीले सके प्रत्येक वर्षमा नसके जीवनकालमा कम्तीमा पनि एकपटक तीर्थमा गई श्राद्ध गर्नुपर्ने शास्त्रीय नियम छ । यसै आधारमा आज राजधानीको गोकर्ण उत्तरगया, त्रिवेणीधाम, देवघाट, रिडी, नुवाकोट र रसुवाको सङ्गमस्थित वेत्रावती लगायत तीर्थस्थलमा विधिपूर्वक श्राद्ध गर्ने भक्तजनको भीड लाग्छ । गयालगायत तीर्थमा गरिने श्राद्ध भएकाले आज गरिने श्राद्धलाई गया श्राद्ध पनि भनिन्छ ।

दक्षिणायनको अन्तिम बिदाइका रुपमा आजको श्राद्ध गर्ने गरिएको हो । दर्शश्राद्ध अर्थात् घरतिरका तीन पुस्ता र मामाघर तिरका तीन पुस्तालाई पिण्ड दिई गरिने श्राद्ध शास्त्रीय रुपमा गर्नुपर्ने दिन पौष कृष्ण औँसी हो । तर व्यवहारमा सोह्रश्राद्धमै यो श्राद्ध गर्न थालिएको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीष्ठका पूर्व सहप्राध्यापक श्रीराम सापकोटा बताउनुहुन्छ ।

“महालय परपक्ष र पितृ पक्षसमेत भनिने सोह्र श्राद्धमा नै दर्शश्राद्ध गर्न थालिएको छ, महालयमा सबै पितृलाई पिण्ड दिनुपर्छ, दर्श श्राद्धमा छ जनालाई दिनुपर्छ, घर र मामाघर तिरका तीन तीन पुस्तालाई गरी छ वटा पिण्डदान गर्ने श्राद्ध नै दर्श श्राद्ध हो, एकोद्दिष्ट गणका सबैलाई पिण्ड दिने श्राद्ध महालय श्राद्ध हो, शब्दमा सोह्र श्राद्धलाई महालय श्राद्ध भनिए पनि व्यवहारमा लोप भएको छ”उहाँले भन्नुभयो ।

श्राद्ध भनेको श्रद्धा हो । शास्त्र अनुसारको व्यवहार कार्यान्वयनमा आएको छैन । महालयमा कसै कसैले सबै पितृलाई पिण्ड दिएपनि छुट्टै ब्राह्मण स्थापना गर्नुपर्ने विधि भने पूरा हुने गरेको छैन । यसरी श्राद्ध गर्दा घरमा नित्य कागलाई भात खुवाएजस्तोमात्र भई विधि नपुग्ने गरेको धर्मशास्त्रविद्को तर्क छ ।–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर