नेपाल कोरियामैत्री नगर अस्पतालमा डायलासिस सेवा सुरु — OSNepal

नेपाल कोरियामैत्री नगर अस्पतालमा डायलासिस सेवा सुरु

LC (KTM) December 23, 2022 0

भक्तपुर-मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरियामैत्री नगर अस्पतालमा मिर्गौला रोगीको उपचारमा सहज पु¥याउने उद्देश्यले डायलासिस सेवा सुरु भएको छ । स्पताललाई रोटरी क्लब अफ साङ्ग्ली मिडटाउनको प्राविधिक सहयोग, रोटरी क्लब अफ जवलपुर वेष्टको आर्थिक सहयोग र रोटरी क्लब अफ मध्यपुरमार्फत् मध्यपुरथिमि नगरपालिकासँगको सहकार्यमा चार थान डायलासिस मेसिन हस्तान्तरण गरिएसँगै यो सेवा सञ्चालनमा आएको हो ।

अस्पताललाई बिहीबार क्लबले रु ४२ लाख नगरपालिकाले रु २० लाख गरी कूल रु ६२ लाख सहयोगमा ल्याइएका मेसिन अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं नगर प्रमुख सुरेन्द्र श्रेष्ठ र रोटरी इन्टरनेशनल डिष्ट्रक ३२९२ का पूर्व डिजी किरणलाल श्रेष्ठले संयुक्तरूपमा हस्तान्तरण गर्नुभएको थियो । अस्पतालमा पहिलो पटक डायलासिस सेवा सञ्चालन गर्न पाउँदा खुसी लागेको भन्दै नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।

“जनताको स्वास्थ्यप्रति हामी सचेत छौँ, अस्पताललाई कोइकाले रु एक अर्ब सहयोग गरेको छ, केही वर्षभित्र अस्पताल विस्तार शय्याको सङ्ख्या दुई सय पु¥याउने छौँ”, उहाँले भन्नुभयो । अस्पतालमा आगामी दुई महिनाभित्र सिटिस्क्यान मेसिन सञ्चालन गर्ने र ब्लड बैंक सञ्चालन गर्ने उहाँले योजना सुनाउनुभयो ।

“मध्यपुरवासीलाई स्वास्थ्यमा सहज पहुँच पु¥याउन प्रत्येक वडामा एक डाक्टर र एक नर्स परिचालन गरी ल्यावसहितको सहरी स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याउने छौँ”, उहाँले भन्नुभयो । उहाँका अनुसार अस्पतालमा सेवा विस्तारका लागि नगरपालिकाले रु तीन करोड बजेट विनियोजन गरेको छ ।
नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले यसअघि अस्पतालमा तलब खुवाउन नसक्ने अवस्था आएकोमा अहिले त्यो समस्या नरहेको बताउनुभयो । नगरपालिकाले अस्पतालका लागि छुट्टै रु तीन करोड ५० लाखको कोष बनाएको उहाँको भनाइ छ ।

“नगरबासी उपचारका लागि टाढा जान नपर्ने गरी सेवा विस्तार गरेका छाैँ, अहिले ५० शय्यामा रहेकोमा अब एक सय शय्यामा विस्तार गरी नर्सिङ र मेडिकल कलेजसमेत सञ्चालन गर्ने तयारी गरेका छौँ”, उहाँले भन्नुभयो ।

विसं २०६१ सालमा स्थापना भएको अस्पताल आजका दिनसम्म मिर्गौलाको बिरामीका लागि डायलासिस सेवा सञ्चालन गर्न पाउँदा निकै खुसी लागेको मेडिकल डाइरेक्टर डा डिके रौशनले बताउनुभयो ।

अस्पतालमा ६ शय्यामा डायलासिस सेवा सञ्चालनका लागि तत्काल एक जना चिकित्सक, तीन जना नर्स र एक जना प्राविधिक गरी पाँच जना जनशक्ति परिचालन गर्दै दैनिक एक सिफ्टमा सञ्चालन गर्ने उहाँको भनाइ छ ।

“अहिलेलाई एक सिफ्ट र एक महिनापछि दुई सिफ्टमा विस्तार गर्नेछौँ, त्यसपछि मेसिन पनि थपेर अझै सेवा विस्तार गर्दै जानेछौँ, अहिलेलाई भने बीमाबाट सेवा दिने र मन्त्रालयसँग सहमति लिएपछि सरकारको निःशुल्क कोटाबाट डायलासिस सेवा दिनेछौँ”, उहाँले भन्नुभयो ।

अस्पतालमा डाइलासिस सेवा सुरु गरेकोमा खुसी व्यक्त गर्दै दाता रोटरी इन्टरनेशनल डिष्ट्रक ३२९२ पूर्व डिजी तीर्थमान शाक्य, रोटरी इन्टरनेशनल डिष्ट्रक ३२९२ मध्यपुरथिमिका चार्टर प्रिसिडेन्ट सुरेन्द्रविक्रम प्रजापतिले क्लबले हाल डायलासिस मेसिन हस्तान्तरण गरेको र यसअघि पनि पिसिआर ल्याब, विभिन्न स्वास्थ्य सामग्री, ह्वीलचियरलगायत प्रदान गरेको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर