एकीकृत वाम शक्ति निर्माण गर्नुपर्छ : अध्यक्ष नेपाल — OSNepal

एकीकृत वाम शक्ति निर्माण गर्नुपर्छ : अध्यक्ष नेपाल

LC (KTM) December 30, 2022 0

काठमाडौँ-नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीलाई नयाँ गतिमा अघि बढाउन एकीकृत वाम शक्ति निर्माण गर्नुपर्ने बताउनुभएको छ । पार्टी निकटका जनसङ्गठन र प्रवास क्षेत्रका पदाधिकारीको बैठकलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष नेपालले समान विचार भएका वाम शक्तिको ध्रुवीकरणले राजनीतिक स्थिरता कायम भई देश र जनताको हितमा क्रियाशील रहन सहयोग पुग्ने बताउनुभयो ।

उहाँले तत्काल आफ्नो पार्टी एकताका विषयमा कुनै दलसँग छलफल नभएको प्रष्ट पार्नुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले आफ्नो पार्टी तत्कालीन परिस्थितिमा विद्रोहबाट निर्माण भएकाले त्यसको औचित्य पुष्टि गर्न आफू तत्पर रहेको बताउनुभयो । उहाँले आफ्नो पार्टी सरकारमा सहभागी बन्ने वा नबन्ने भन्ने विषयमा निर्णय नभएको जानकारी दिँदै स्थायी कमिटीको बैठकबाट सो विषयमा टुङ्गो लगाइने बताउनुभयो ।

वर्तमान सरकारले गर्ने राम्रा कामलाई सरकार बाहिर भए पनि समर्थन गर्ने उहाँको भनाइ थियो । बैठकमा सहभागी नेतामध्ये केहीले सरकारमा जानुपर्ने, केहीले पार्टी एकता गर्नुपर्ने र केहीले पार्टीले उठाउँदै आएका मुद्दालाई स्थापित नगरी कुनै पार्टीसँग एकता नगर्न सुझाव दिनुभएको छ भने अधिकांशले वृहत् वाम एकताको पक्षमा क्रियाशील रहन सुझाउनुभएको थियो । पार्टीले निरन्तर कार्यकर्तासँग राय सुझाव सल्लाह लिइरहेको र प्राप्त सुझावका आधारमा रणनीति बनाएर आगामी कार्ययोजना तय गर्न लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर