राजनीतिक नेतृत्व कर्तव्यनिष्ठ हुनुपर्छ : मुख्यमन्त्री पोखरेल — OSNepal

राजनीतिक नेतृत्व कर्तव्यनिष्ठ हुनुपर्छ : मुख्यमन्त्री पोखरेल

LC (KTM) January 04, 2023 0

गण्डकी -गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राजनीति नेतृत्व र कर्मचारी वर्ग इमान्दार एवं कर्तव्यनिष्ठ हुनुपर्नेमा जोड दिनुभएको छ ।गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान (जिपिटिए)द्वारा सञ्चालित कर्मचारी सेवाकालिन तालिमको आज आयोजित समापन समारोहमा उहाँले राजनीतिक नेतृत्व र कर्मचारी वर्गको इमान्दारिता एवं कर्तव्यनिष्ठताले नागरिकका धेरै अपेक्षा पूरा हुने बताउनुभयो ।

परिवर्तनको अनभूति नागरिकलाई दिलाउन निरन्तर मेहनत गर्नुपर्ने उहाँको भनाइ छ । राजनीतिक नेतृत्वले लिएको सिद्धान्तलाई कार्यान्वयन गर्न कर्मचारीतन्त्र लाग्नुपर्नेमा जोड दिँदै उहाँले निजामती कर्मचारी कुनै पनि शासन व्यवस्थाको ऐना हो भन्नुभयो ।सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउनकै लागि गण्डकी प्रदेश सरकारले कर्मचारीका लागि नियमितरुपमा तालिम सञ्चालन गरेको मुख्यमन्त्री पोखरेलले बताउनुभयो । सङ्घीयता कार्यान्वयनका सिलसिलमा केन्द्र सरकारसँग धेरै विमति रहेको उल्लेख गर्दै उहाँले प्रहरी समायोजनमा विलम्ब, निजामती कर्मचारी ऐन ल्याउन आलटाल गरेर प्रदेशलाई कमजोर बनाउन खोजिएको बताउनुभयो ।

मुख्य न्यायाधिवक्ता रोहितराज बास्तोला, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव रामप्रसाद आचार्यलगायतले तालिमबाट वृत्ति विकासका साथै व्यक्तिगत क्षमतामा समेत सुधार हुने विश्वास व्यक्त गर्नुभयो ।प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डेले अधिकृतस्तरका कर्मचारीका लागि थालेको ३० दिने तालिममा कार्यालय सञ्चालन तथा व्यवस्थापनका बारेमा सैद्धान्तिक व्यवहारिक पक्षका विषयमा प्रशिक्षण दिइएको बताउनुभयो ।

कर्मचारीको ज्येष्ठता, प्रदेश र स्थानीय तहमा समायोजन भएको मितिलगायत विषयलाई आधार मानी तयार पारिएको मापदण्डअनुसार कर्मचारी छनोट गरिएको उहाँले जानकारी दिनुभयो । तालिमका लागि पाँच सयभन्दा बढी इच्छुक रहे पनि ६० जना छनोटमा परेको र ५६ जना तालिममा सहभागी भएको उक्त अवसरमा जानकारी गराइयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर