सडकमा नाचेको एक जोडीलाई सुनाइयो कठोर सजाय, उनीहरुले अब १० वर्ष जेल बस्नुपर्ने — OSNepal

सडकमा नाचेको एक जोडीलाई सुनाइयो कठोर सजाय, उनीहरुले अब १० वर्ष जेल बस्नुपर्ने

LC (KTM) February 01, 2023 0

उमेरले २० वर्षमाथिका एक इरानी जोडीलाई उनीहरू सडकमा नाचिरहेको भिडिओ सार्वजनिक गरेका कारण १० वर्षको जेल सजाय सुनाइएको छ। उनीहरूमाथि भ्रष्टाचार, वे श्या वृत्ति र दुष्प्रसार गरेको आरोप लगाइएको थियो र हाल दोषी ठहर भएको बताइएको छ।

सार्वजनिक भिडिओमा उनीहरू तेहरानस्थित आजादी (फ्रीडम) टावर अगाडि नाचिरहेको देखिन्छन्। आचार व्यवहार निगरानी गर्ने विशेष प्रहरीले नियन्त्रणमा लिएको एक महिलाको मृत्यु भएपछि विरोध प्रदर्शनमा उत्रिएका मानिसहरूलाई सरकारी अधिकारीहरूले कडा सजाय दिइरहेका छन्।

तर उक्त जोडीले आफ्नो नृत्यलाई इरानमा जारी विरोध प्रदर्शनसँग सम्बन्धित रहेको बताएका थिएनन्। एक स्रोतले बीबीसी मोनिटरिङलाई पुष्टि गरे अनुसार दुई जनाको जोड्दा झन्डै २० लाखले पच्छाएको इन्स्टाग्राम खातामार्फत भिडिओ साझा गरेपछि उनीहरू गिरफ्तारीमा परेका थिए।

मृत्युको घटनाले छेडेको विरोध प्रदर्शन
गत वर्ष सेप्टेम्बरमा २२ वर्षीया महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएपछि सरकार विरोधी प्रदर्शन देशभरि फैलियो जसलाई इरानी शासकले “दङ्गा”को सङ्ज्ञा दिएको थियो। महिलाहरूले हिजाब वा कपडाले कपाल ढाक्नुपर्ने नियम उल्लङ्घन गरेको आरोपमा उनलाई तेहरानमा पक्राउ गरिएको थियो।

२१ वर्षीया अस्तियाज हकीकी र उनीसँग विवाह तय भएका २२ वर्षीय अमिर मोहम्मद अहमदीलाई “भ्रष्टाचार तथा देहव्यापारलाई बढवा दिएको, राष्ट्रिय सुरक्षाविरुद्धमा योजना बनाएको र स्थापित मान्यताविरुद्ध प्रचार गरेको” अभियोगमा दोषी ठहर गरिएको बताइएको छ।

गिरफ्तारीअघि पेसाले आफूलाई ‘फ्यासन डिजाइनर’ बताउने हकीकीको पारिवारिक घरमा छापा मारिएको थियो। उनीहरूलाई दोषी ठानिएको फरकफरक अभियोगका लागि दुवैले कति-कति वर्ष सजाय भोग्नु पर्छ भन्ने कुरा स्पष्ट छैन। उनीहरूलाई सबै अभियोगका लागि संयुक्त रूपमा कुल साढे १० वर्षको सजाय सुनाइएको हो।

फैसला कायमै रहे हालसम्म घोषणा गरिएकामध्ये सबैभन्दा लामो अवधिको सजाय भोग्नेमा उनीहरू पर्ने छन्। विवरणहरूका अनुसार उनीहरू सामाजिक सञ्जाल चलाउन र दुई वर्षसम्म देश छाड्न समेत प्रतिबन्धित छन्।

राज्यका लागि ठूलो चुनौती
गत सेप्टेम्बरयता इरानमा जारी विरोध प्रदर्शनलाई सन् १९७९ मा भएको इस्लामिक क्रान्तिपछि इरानी शासन सत्तामा आए यताकै गम्भीर चुनौतीको रूपमा हेरिएको छ। आन्दोलनलाई दबाउन राज्यले गत डिसेम्बरदेखि यस महिनाको सुरुवातसम्ममा कम्तीमा चार जना प्रदर्शनकारीलाई मृत्युदण्डसहित कडा सजाय दिइसकेको छ।

महसा अमिनीको मृत्युपश्चात् इरानमा परिस्थिति व्यापक रूपमा अस्थिर बनेको छ। लामो समयदेखि कायम गरिबी, बेरोजगारी, असमानता, अन्याय र भ्रष्टाचारबारे पनि मानिसहरूले असन्तुष्टि व्यक्त गर्न थालेका छन्। उनको मृत्युलाई लिएर भएको विरोध प्रदर्शनका क्रममा सयौँ मानिस मारिएका छन् र हजारौँ पक्राउ परेका छन्। बीबीसी न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर