१ अर्ब १९ करोडमा गोर्खाको दूधपोखरी चेपेमा ८.८५६ मेगावाट जलबिद्युतमा आयोजना बन्दै — OSNepal

१ अर्ब १९ करोडमा गोर्खाको दूधपोखरी चेपेमा ८.८५६ मेगावाट जलबिद्युतमा आयोजना बन्दै

LC (KTM) February 04, 2023 0

काठमाडौं । गोर्खाको दूधपोखरी चेपे जलबिद्युत आयोजनामा राष्ट्रिय बाणिज्य बैंकले १ अर्ब १९ करोड लगानी गर्ने भएको छ ।गोर्खाको दूधपोखरीमा निर्माणाधिन दुधपोखरी चेपे जलबिद्युत आयोजनामा राष्ट्रिय बाणिज्य बैंकले लगानी गर्ने सम्वन्धि सम्झौतामा हस्ताक्षर गरेको छ ।

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दुधपोखरी मेचेका अध्यक्ष सविन प्रधानाङ्गबीच विहिवार एक कार्यक्रमका बीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौताअनुसार आयोजनाको कुल लागतमा बैंकले ७० प्रतिशत ऋण लगानी गर्नेछ भने बाँकी ३० प्रतिशत आयोजनाले नै लगानी गर्नेछ ।दूधपोखरी चेपे जलविद्युत आयोजना ८.८५६ मेगावाटको भएको अध्यक्ष सविन प्रधानाङ्गले बताए ।उनका अनुसार जलविद्युतको लागि चाहिने सडक एवं प्रसारण लाईनको काम ९० प्रतिशत सम्पन्न भई सकेको छ ।

सो आयोजनाको प्रशारण लाइन सुपर चेपे जलविद्युत आयोजनाको प्रशारण लाइनमा डबल सर्किट भएर ल्याइने तयारी गरेको छ । सुपर चेपे र दुधपोखरी चेपेको संयुक्त कोलाब्रेसनमा काम भएपछि सो क्षेत्रका बासिन्दा पनि खुशी भएका छन् ।अनुभवी सुपर चेपेको समुहको कोलाब्रेसनमा दुधपोखरी चेपे बन्नेभएपछि आयोजना समयमै सम्पन्न हुने भएको छ ।

आयोजनामा १७५५ मिटर लामो हेडरेस सुरुङ र ३११९ मिटर लामो पेनस्टक निर्माण हुने आयोजनाका जनसम्पर्क अधिकृत प्रदिप राज गिरीले जानकारी दिए । यो आयोजना पूरा भएपछि वार्षिक ५६.१९ गिगावाट प्रति घन्टा विद्युत उत्पादन हुने उनले जनाए । हिउँदमा १९.२८ गिगावाट प्रति घन्टा र बर्षातमा ३६.९१ गिगावाट प्रति घन्टा विद्युत उत्पादन हुने गिरीले जानकारी दिए ।

आयोजनाबाट उत्पादन भएको विद्युत ३३ केभी प्रसारण लाइनमार्फत २८ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको लमजुङमा रहेको कीर्तिपुर सबस्टेसनमा जोडिनेछ । आयोजना निर्माण सुरु भएको साढे २ वर्षमा सम्पन्न हुनेछ ।

कम्पनीले आयोजनाको अध्ययन पूरा गरी २०७७ माघ १९ गते नै विद्युत विकास विभागबाट आवेदन पाएको हो । आयोजनाको विद्युत खरिद सम्झौता (पीपीए) सम्पन्न भइसकेको छ ।स्वदेशी लगानीमा नै निर्माण हुन लागेको दुधपोखरी चेपे जलविद्युत आयोजना २०८१ को जेठसम्ममा सम्पन्न गरी सक्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर