खोटाङबजारको सडक ढलान ६ महिनादेखि अलपत्र — OSNepal

खोटाङबजारको सडक ढलान ६ महिनादेखि अलपत्र

LC (KTM) February 10, 2023 0

खोटाङ, २७ माघ -ठेकेदारले खोटाङको खोटेहाङ गाउँपालिका–७ खोटाङबजारको सडक ढलानको काम ६ महिनादेखि अलपत्र पारेको छ ।निर्माण कम्पनी धुलीखेल निर्माण सेवाले जिल्लाकै पुरानो बजार मानिने खोटाङ बजारभित्रको सडक ढलान तथा डिबिएसटी पिचको काम अलपत्र पारेको हो । प्रदेश सरकारको मुअकरबाहेक २ करोड ६९ लाख २५ हजार ७९७ को लागतमा धुलीखेल निर्माण सेवाले खोटाङबजार सडक ढलान तथा डिबिएसटी पिचको ठेक्का लिएको थियो ।

२०७८ असार ३० गतेसम्ममा सक्ने गरी २०७७ असार ३० गते खोटाङ बजार रोड कन्ट्रक्सन आयोजनाको ठेक्का लागेको थियो । निर्माण कम्पनीले गत असारदेखि सडक ढलान तथा डिबिएसटी पिचको काम रोकेर अलपत्र पारेको खोटेहाङ गाउँपालिकाका अध्यक्ष उदिमबहादुर राईले बताए । ‘गुणस्तहिन काम भयो भन्ने गुनासो आएपछि अनुगमनमा गएर रोक लगाएका थियौंँ,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘त्यसको केही समयसम्म काम गरेर हिँडेको ठेकेदार अहिलेसम्म वेपत्ता छ । असारदेखि काम ठप्प छ ।’

खोटाङबजारभित्र करिब सात सय मिटर आरसिसि ढलान र करिब छ सय मिटर डिबिएसटी कालोपत्रे गर्नुपर्ने सम्झौता छ । तर सडक ढलानका क्रममा ढिलासुस्तीसँगै गुणस्तरहीन गिटी र बालुवा प्रयोग गरिएको, मापदण्ड अनुसारको दुरीमा रडको जाली नराखिएको, ढलानअघि राखिएको सोलिङ राम्ररी नगरिएको खोटाङबजारका वडाध्यक्ष शिवप्रसाद फुयाँलले बताए ।

प्रयोग गर्न ल्याइएका गिटी र बालुवा छुट्याउन सकिन्न । बनिसकेका ड्रेन र मेसिनरी पर्खाल भत्किन थालेको गाउँपालिकाका उपाध्यक्ष रुपेश राईले बताए । ढलानका लागि ल्याएर जथाभावी थुपारिएको बालुवा, गिटी र रडका कारण बजारमा दुर्घट्नाको जोखिम उत्तिकै बढेको छ ।

सुरुमा खोटाङ बजारमा डिबीएसटी कालोपत्रे गर्नेगरी डिपिआर तयार पारिएको थियो । तर डिबीएसटी गर्ने क्रममा रोलरको थर्कनले बजारका घरहरुलाई असर गर्ने भन्दै डिजाइन परिवर्तन गरेर घरहरु भएको क्षेत्रमा ढलान र घर नभएको ठाउँमा डिबिएसटी पिच गर्नेगरी काम अघि बढाइएको थियो । परिवर्तित डिजाइन अनुसार २ नम्बर धारादेखि ईलाका प्रशासन कार्यालयको गेट र बजार पुछारसम्म ढलान तथा २ नम्बर धारादेखि गाउँपालिकाको कार्यालयसम्म डिबिएसटीको काम अघि बढाइएको हो ।

सम्झौता म्याद नाघेको १८ महिना वितिसक्दा आयोजनाको करिब ६० प्रतिशत मात्र काम सकिएको छ । निर्माण कम्पनीले दुईपल्ट थप भएको म्याद गुजारीसकेको शहरी विकास तथा भवन कार्यालय, ओखलढुंगाले जनाएको छ । निर्माण कम्पनीले कोभिड–१९ को महामारीका कारण सरासर काम गर्न नपाएको बताउँदै आएको छ ।

बिक्रम संबत २०२० सालसम्म सदरमुकाम रहेको खोटाङबजारको सडक ढलानमा भइरहेको लापरवाहका विषयमा स्थानीय सरकारदेखि प्रदेश र संघीय सांसद बेखबरझैं देखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर