१३ करोडको लागतमा खानेपानी आयोजना निर्माण — OSNepal

१३ करोडको लागतमा खानेपानी आयोजना निर्माण

LC (KTM) February 12, 2023 0

कञ्चनपुर-दाताले उपलब्ध गराएको जग्गामा शुक्लाफाँटा नगरपालिका–९ सिसैयामा खानेपानी आयोजना निर्माण अगाडि बढाइएको छ । रु १३ करोडको लागतमा खानेपानी आयोजना निर्माण अगाडि बढाइएको हो ।

शुक्लाफाँटा–९ वडाध्यक्ष रमेश ऐरका अनुसार पहिलो वर्ष खानेपानी आयोजनाको पर्खाल निर्माण गर्न र बोरिङ गाड्नका लागि रु १८–१८ लाख गरी रु ३६ लाख बजेटमा कार्य गरिएको छ । “पाँच वर्षभित्रै निर्माण पूरा हुने खानेपानी आयोजनाबाट छ सय ८० परिवारको घरमा शुद्ध पेयजल पु¥याउने लक्ष्यसहित कार्य गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “पर्खाल निर्माण र बोरिङ गाड्ने कार्य पूरा भइसकेकाले ट्याङ्की निर्माणको काम सुरु गर्छौँ ।”

साठी हजार लिटरको खानेपानीको आधुनिक तरिकाले ट्याङ्की निर्माण हुने उहाँको भनाइ छ । खानेपानी आयोजनाको कार्य गुणस्तरीयरूपमा गर्नका लागि कटिबद्ध रहेको आयोजनाको उपभोक्ता समितिका अध्यक्ष श्यामबहादुर ऐरले बताउनुभयो ।

“ट्याङ्की निर्माणका लागि आवश्यक बजेट माग गर्छौँ”, उहाँले भन्नुभयो, “त्यसपछि पाइप लाइनको कार्य अगाडि बढाउँछौँ, पाइप लाइनको कार्य सकिएसँगै धारा जडानकार्य हुन्छ ।” उपभोक्ताको घर–घरमा र सार्वजनिक ठाउँमा धारा जडानकार्य हुने उहाँले बताउनुभयो । शुद्ध पेयजलको व्यवस्था नहुँदा वडाका बासिन्दाले हेण्डमम्पको असुरक्षित खानेपानी प्रयोग गर्दै आएका छन् ।

धेरै उपभोक्ताको हेण्डपम्पको पानीमा आर्सेनिक, आइरनलगायतको समस्या रहेको छ । “खानेपानीका लागि पहिला कुवाको प्रयोग हुन्थ्यो”, स्थानीय कर्णबहादुर ऐरले भन्नुभयो, “त्यसपछि हेण्डपम्पको प्रयोग हुन थालेको हो, हेण्डपम्पको पानी सुरक्षित नभए पनि बाध्य भएर पिउँदै आएका छौँ ।” खानेपानी आयोजना निर्माणको कार्य अगाडि बढेसँगै शुद्ध पेयजल पिउन पाउनेमा ढुक्क भएको उहाँले बताउनुभयो ।

आयोजना निर्माण हुन थालेपछि निकै खुसी भएको उहाँको भनाइ छ । खानेपानी आयोजना निर्माणका लागि स्थानीय डम्बरबहादुर ऐर, तीर्थबहादुर ऐर र सुनादेवी ऐरले तीन कठ्ठा जग्गा दान गर्नुभएको छ । दान गरिएको जग्गाको मूल्य रु ४५ लाख बढी रहेको छ ।
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर