नि:शुल्क मुटुरोग परीक्षण शिविरबाट १३५५ जनाले सेवा लिए — OSNepal

नि:शुल्क मुटुरोग परीक्षण शिविरबाट १३५५ जनाले सेवा लिए

LC (KTM) February 12, 2023 0

लमजुङ २९ माघ-तनहुँको भानु नगरपालिका स्थित मानेचौकामा शुक्रवारबाट सुरु भएको दुई दिने निःशुल्क मुटुरोग परीक्षण शिविरमा एक हजार ३५५ जना भन्दा बढी विद्यार्थी र सार्वधारणको मुटु परीक्षण गरिएको छ ।

विशेष त विद्यार्थीहरुलाई लक्षित गरी विशेषज्ञ डाक्टर सहित आयोजना गरिएको मुटुरोगसम्बन्धी २ दिने नि:शुल्क स्वास्थ्य शिविरबाट तनहुँको भानु नगरपालिका वडा नं ११ क्षेत्रका विद्यार्थीसँगै अभिभावकहरु पनि लाभान्वित भएका छन् ।

भानु–११ मानेचौका स्थित त्रिभुवन मावि परिसरमा मानव विकास तथा सामुदायिक सेवा एचडिसिएसद्धारा सञ्चालित नमुना सामुदायिक अस्पतालल र नेपाल हृदय रोग निवारण प्रतिष्ठानको संयुक्त आयोजना तथा भानु नगरपालिकाको सहकार्यमा आयोजित मुटुरोग सम्वन्धी नि:शुल्क शिविरबाट एक हजार बालबालिकाको मुटु परिक्षण गरिएको अस्पताल बिकास समितिका अध्यक्ष परमेश्वर अधिकारीले जानकारी दिए ।

शिविरको पहिलो दिन हिजो मुटुरोग निवारण प्रतिष्ठानका विशेषज्ञहरुद्धारा परामर्शसहित एक हजार बालबालिकाहरुको मुटु परिक्षण गरिएको नमुना सामुदायिक अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले जानकारी दिए ।

दोस्रो दिन अस्पताल आसपासका ३५५ जना भन्दा बढी सार्वधारणले निःशुल्क सेवा लिएका छन् । परीक्षणका क्रममा ३ जना बालबालिकामा मुटु रोग भएको फेला परेको छ जसमा २ जनाको बाथ मुटुरोग र एक जनालाई जन्मजात मुटु रोग भएको पत्ता लागेको मुटु रोग विशेषज्ञ डा.प्रकाश रेग्मीले जानकारी दिए ।

त्यस्तै परीक्षण गरिएको अधिकांश मधुमेह, उच्च रक्तचाप भएका बिरामी भेटिएको रेग्मीले बताए । दम लगायतका समस्या पनि अत्याधिक देखिएको उनले बताए ।

पत्ता लागेका बिरामीमध्ये २ जना जन्मदाता मुटु रोग भएकाहरुको तत्काल शल्यक्रिया गर्नुपर्ने देखिएकाले काठमाडौँ स्थित नेपाल हार्ट फाउण्डेसनको तर्फबाट नि:शुल्क शल्यक्रिया गरिदिने समेत उनले बताए ।

त्यस्तै करिब एक सयजना बिरामीले नियमित औषधी सेवन गर्नुपर्ने अवस्था देखिएको उनले बताए । त्यहाँका अधिकांश रोगहरु नसर्ने रोग देखिएकाले जीवनशैली र आहारविहारमा विशेष ध्यान दिन समेत उनले सुझाव दिए ।

साथै सुन्दरबजार नगरपालिकामा १५० जना भन्दा बढीको सहभागितामा मुटु रोगसम्बन्धी सचेतना कार्यक्रम समेत गरिएकाे छ । नमुना सामुदायिक अस्पतालले गुणस्तरीय व्यवस्थापनका साथै गुणस्तरीय सेवा प्रवाह गर्ने उद्देश्यले एचडीसीएससँग सम्झौता गरी ३० वर्षसम्म अस्पतालको व्यवस्थापन र सञ्चालनको सम्पूर्ण जिम्मेवारी मानव विकास तथा सामुदायिक सेवा (एचडीसीएस)लाई प्रदान गरेको छ ।

एचडिसिएसले गत महिनादेखि अस्पतालमा औपचारिक रुपमा सेवा प्रवाह सुरु समेत गरि सकेको अस्पतालका अध्यक्ष अधिकारीले जानकारी दिए । अस्पतालबाट लमजुङ, तनहुँ र गोरखा लगायतका जिल्लाका बिरामीहरुले सेवा लिइरहेको उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर