म्याग्दीको दुर्गम बस्ती मल्कबाङ सडक सञ्जालले जोडिएपछि स्थानीयवासी हर्षित — OSNepal

म्याग्दीको दुर्गम बस्ती मल्कबाङ सडक सञ्जालले जोडिएपछि स्थानीयवासी हर्षित

LC (KTM) February 12, 2023 0

म्याग्दी-म्याग्दीको धवलागिरि गाउँपालिकाको दुर्गम बस्ती मल्कबाङको मलम्पार सडक सञ्जालले जोडिएको छ । अघिल्लो वर्ष मल्कबाङको दैडाँडामा पुगेर रोकिएको सडकलाई यसवर्ष विस्तार गरी मलम्पार बस्तीमा पु¥याइएको हो । सडक सञ्जालको पहुँच जोडिएपछि स्थानीयवासी हर्षित भएका छन् ।

सडक निर्माणका लागि चालु आर्थिक वर्षमा गाउँपालिकाबाट रु २५ लाख र गण्डकी प्रदेश सरकारमार्फत विनियोजित रु १० लाखबाट मलम्पारमा सडकको ट्याक निर्माण गरिएको वडा नं ५ का वडाध्यक्ष अमर छन्त्यालले जानकारी दिनुभयो । उहाँका अनुसार मलम्पार पुगेको सडक विस्तार गरी वडा नं ६ मराङको बुलसम्म जोड्ने तयारी गरिएको छ ।

सडक सञ्जालले जोडिएपछि दुर्गम बस्ती मलम्पारदेखि वडा कार्यालय रहेको मल्कबाङसम्मको करिब साढे एक घण्टाको बाटो २० मिनेटमै छोटिएको छ । करिब एक सय ५० घरधुरीको बसोबास रहेको मलम्परा गाउँवासीलाई दैनिक उपभोग्य बस्तु ढुवानी गर्न र सदरमुकाम, वडा कार्यालय तथा र गाउँपालिकाको कार्यालय पुग्न समेत सहज भएको छ ।

सडक पुगेपछि दुर्गम गाउँलाई सडकको पहुँचले सुगम बनाएको स्थानीय देवी छन्त्यालले बताउनुभयो । ‘‘पहिले स्वास्थ्य सेवा लिन पनि घण्टौँ हिँडेर वडा कार्यालय रहेको मल्कबाङ पुग्नुपथ्र्यो, अहिले बिरामी भएमा गाडीबाट केही मिनेटमै स्वास्थ्य चौकी पु¥याउन सकिने भएको छ, सडक आएसँगै गाउँमा विकासको अनुभूति पनि भएको छ’’उहाँले भन्नुभयो ।

मल्कबाङको दैडाँडादेखि साढे दुई किलोमिटर लामो सडक निर्माण भएपछि मलम्पार पनि सडक सञ्जालले जोडिएको गाउँपालिकाका सवइञ्जिनीयर जनक धानुकले जानकारी दिनुभयो । उहाँका अनुसार मलम्पारदेखि वडा नं ६ को बुलसम्म जोड्न धमाधम खडक निर्माणको काम भइरहेको छ ।करिब तीन किलोमिटर दूरीमा अब जम्मा एक किलोमिटर मात्रै सडकको ट्र्याक खन्न बाँकी छ । मलम्पार र बुल सडक सञ्जालले जोडिएमा वडा नं ६ को मराङ–राम्चे–बुल तथा वडा नं ५ को मलम्पार–मल्कबाङहुँदै मराङबेँसी जोड्ने चक्रपथ निर्माण हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर