सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु — OSNepal

सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु

LC (KTM) February 13, 2023 0

काठमाडौं, १ फागुन -पर्वत, कुश्मा नगरपालिका-२ लामपाटामा कुश्माबाट खुर्कोटतर्फ जाँदै गरेको ध.१ ज ११२३ नम्बरको भ्यान अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा भ्यानका चालक कुश्मा नगरपालिका-२ खुर्कोट बस्ने ४२ वर्षीय बालकृष्ण पौडेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल पर्वतमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका भ्यानमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

सिरहा, लहान नगरपालिका-७ स्थित सडकमा रोकी राखेको स.१ क २२६७ नम्बरको जेसिबीमा स.७ प ९९४८ नम्बरको मोटरसाइकल ठक्कर खाई आइतबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने १९ वर्षीय सुशान्त चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकलाई उपचारको लागि विराट नरसिंह ओम अस्पताल पठाइएको छ । दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेका छन् भने हाल फरार जेसिबी चालकको प्रहरीले खोजी गरिरहेको छ ।

सिन्धुली, मरिण गाउँपालिका-७ क्याम्पस चोकमा रोकी राखेको ना.३ त १६० नम्बरको ट्याक्टरमा बा.५८ प १०९८ नम्बरको मोटरसाइकल ठक्कर खाई आइतबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही गाउँपालिका-४ बस्ने ३३ वर्षीय जितेन्द्र माझी र ३२ वर्षीय मेष बहादुर माझीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा उपचारको क्रममा मृत्यु भएको हो । दुवै सवारी साधन र ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१० बसपार्कमा कर्णाली प्रदेश पंचकोशी प्रालिको बा.४ ख ८०६१ नम्बरको बसको ठक्करबाट पैदलयात्री जाजरकोट छेडागाड नगरपालिका-६ घर भई हाल सुर्खेत वीरेन्द्रनगर नगरपालिका-११ बामे खोला बस्ने ६६ वर्षीया नदी रावतको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सप्तरी, शम्भुनाथ नगरपालिका-७ मोहनपुरमा स.९ प ८१९१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा चालक शम्भुनाथ नगरपालिका-११ बस्ने २८ वर्षीय कपिल चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर