सवारी दुर्घटनामा पाँच जनाको मृत्यु — OSNepal

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

LC (KTM) February 14, 2023 0

काठमाडौं,२ फागुन – काठमाडौं, शंखरापुर नगरपालिका-५ कात्तिकेमा ना.५ च ८१३९ नम्बरको ट्याक्टरमा जडान गरेको टेलर मिक्चर चुँडिएर सोमबार दिउँसो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा ट्याक्टरमा सवार काभ्रेपलान्चोक घर भई हाल दक्षिणढोका बस्ने ३४ वर्षीय गंगा तामाङ र हाल वतन नखुलेका २७ वर्षीय दिपक नाम गरेका व्यक्ति रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको सुष्मा कोईराला मेमोरियल अस्पताल सलम्बुटारमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

धादिङ, खनियाबास गाउँपालिका-३ कुरिनस्थित सडकमा बा.३ ख ३३६० नम्बरको आईचर गाडीबाट खस्दा सोही ठाउँ बस्ने सिंह बहादुर तामाङको छोरा १० वर्षीय रोहित तामाङको सोमबार साँझ मृत्यु भएको छ । गाडीको पछाडि झुन्डिएर यात्रा गरेका उनी अचानक सडकमा खस्दा चक्काले किचिँदा घटनास्थलमै मृत्यु भएको हो । आईचर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कपिलवस्तु, बुद्धभूमि नगरपालिका-२ पानीधारामा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्री वाणगंगा नगरपालिका-८ त्रिलोकमार्ग बस्ने ६५ वर्षीया कमला गैरेको सोमबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

रुपन्देही, सैनामैना नगरपालिका-१० फायरलाईनस्थित सडकमा लु.५० प ७९८८ नम्बरको स्कुटरले पाउरोटी बोकेको ठेलालाई सोमबार साँझ ठक्कर दिँदा स्कुटरमा सवार कपिलबस्तु बाणगंगा नगरपालिका-२ पिपरा बस्ने ३६ वर्षीय बिशाल कार्कीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ठेला चालक र स्कुटरमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।दुर्घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर