प्रहरी र ग्लोबल आईएमई बैंकबीच छात्रवृत्ति अक्षयकोष स्थापनासम्बन्धी सम्झाैता — OSNepal

प्रहरी र ग्लोबल आईएमई बैंकबीच छात्रवृत्ति अक्षयकोष स्थापनासम्बन्धी सम्झाैता

LC (KTM) February 17, 2023 0

काठमाडौं, ५ फागुन । नेपाल प्रहरी र ग्लोबल आईएमई बैंक लिमिटेडबीच ‘नेपाल प्रहरी-ग्लोबल आईएमई बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना, सञ्चालन तथा व्यवस्थापनमा सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित एक कार्यक्रमबीच हस्ताक्षर भएको छ ।

सो अवसरमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले अक्षय कोष स्थापनाका लागि २५ लाख रुपैयाँको चेक प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलाई हस्तान्तरण गर्नुका साथै समझदारीपत्र आदानप्रदानसमेत गरे । उनले नेपाल प्रहरीले आम नागरिकलाई सेवा प्रदान गर्न पुर्‍याएको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै प्रहरी कर्मचारीका सन्ततीलाई सहयोग गर्न पाएकोमा आत्मसन्तुष्टी प्राप्त भएको बताए ।

प्रहरी महानिरीक्षक सिंहले तल्लो दर्जाका प्रहरी कर्मचारीका सन्ततीलाई छात्रवृत्ति प्रदान गर्ने समझौताको लागि ग्लोबल आईएमई बैंकलाई धन्यवाद दिँदै सम्झौताले तल्लो दर्जाका प्रहरी कर्मचारीहरूको मनोबल उच्च हुने विश्वास व्यक्त गरे ।

समझौताअनुसार नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाले नेपाल पुलिस स्कुलहरूमा अध्ययन गर्ने बहालवाला, अवकाश प्राप्त र शहीद एवम् अशक्त प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दार दर्जासम्मका उत्कृष्ट अंक प्राप्त गर्ने प्रहरी कर्मचारीका सन्ततीहरूलाई कम्तीमा २ जना जेहेन्दार विद्यार्थी छात्रवृत्ति वार्षिक शुल्क, परीक्षा शुल्क, स्टेशनरी र आवासीय सुविधा भएको स्कुलमा आवास र खाना खर्च तथा आवासीय सुविधा नभएको स्कुलमा गाडी भाडासमेत निरन्तर उपलब्ध हुनेछ ।

छात्रवृत्ति प्रदान गर्नको लागि कम्तीमा २५ लाख रूपैयाँ ग्लोबल आईएमई बैंकले प्रहरी कल्याण कोषको नाममा ‘नेपाल प्रहरी- ग्लोबल आईएमई बैंक छात्रवृत्ति अक्षय कोष’ को स्थापना गर्ने र उक्त खाता संचालन तथा व्यवस्थापन प्रहरी कल्याण कोषले गर्नेछ ।

आगामी शैक्षिक सत्र २०८० वैशाखदेखि लागू हुने यो सम्झौताअनुसार नेपाल पुलिस स्कुलका कक्षा ४ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरूलाई उपलब्ध हुने र नेपाल पुलिस स्कुलहरूले विद्यार्थीहरूको समयानुकूल शुल्क परिमार्जन भई बृद्धि भएको अवस्थामा छात्रवृत्ति अक्षय कोषबाट प्राप्त हुने ब्याज आम्दानी रकमबाट अपुग भएमा आपसी समन्वय र सहमतीमा समस्या समाधान गरिने समेत समझदारीपत्रमा उल्लेख गरिएको छ ।

उक्त समझदारीपत्रमा नेपाल प्रहरीकोतर्फबाट नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक केदार ढकाल र ग्लोबल आईएमई बैंकको तर्फबाट बैंकका प्रमुख मार्केटिङ अधिकृत दिलिप पोखरेलले हस्ताक्षर गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर