बैसाखमा सर्वाधिक राशीको ‘प्रथम जन्तेढुंगा आमन्त्रित गोल्डकप’ हुने — OSNepal

बैसाखमा सर्वाधिक राशीको ‘प्रथम जन्तेढुंगा आमन्त्रित गोल्डकप’ हुने

LC (KTM) February 17, 2023 0

खोटाङ, ५ फागुन -खोटाङको जन्तेढुंगा गाउँपालिकामा सर्वाधिक राशीको ‘प्रथम जन्तेढुंगा आमन्त्रित गोल्डकप’ हुने भएको छ । जन्तेढुंगा गाउँपालिका र जन्तेढुंगा खेलकुद विकास समितिको संयुक्त आयोजनामा आगामी वैशाख २ गतेदेखी वैशाख ९ गतेसम्म जिल्लाकै सर्वाधिक राशिको गोल्डकपको तयारी गरिएको हो । 

जन्तेढुंगा खेलकुद विकास समितिले शुक्रबार गाउँपालिकाको कार्यालयमा पत्रकार सम्मलेन गरेर ‘प्रथम जन्तेढुंगा आमन्त्रित गोल्डकप’ गर्न लागिएको जानकारी दिएको हो । जन्तेढुंगा गाउँपालिकाका–५ चिसापानीको खर्क खेलमैदानमा सञ्चालन हुने गोल्डकपमा प्रथम स्थान प्राप्त गर्ने टिमले नगद २ लाख ५५ हजार ५ सय र दोश्रो स्थान प्राप्त गर्ने टिमले नगद १ लाख ५५ हजार ५ सयका साथमा कप, मेडल र प्रमाण–पत्र पाउने छन् ।

यस्तै, सेमिफाइनलिष्ट टिमलाई नगद ५०–५० हजारका साथमा प्रमाण–पत्र प्रदान गरिने जन्तेढुंगा खेलकुद विकास समितिका अध्यक्ष सुमन राईले जानकारी दिए । 

गोल्डकपमा उत्कृष्ट एक जना स्ट्राइकर, उत्कृष्ट एक गोल्डकिपर र एक जना उत्कृष्ट एक डिफेण्डरलाई जनही १० हजार तथा म्यान अफ द म्याचलाई ५ हजार प्रदान गर्ने आयोजकले जनाएको छ । खेल क्षेत्रको विकास र प्रवद्र्धनका साथै खेलाडीको प्रोत्साहन गर्ने उद्धेश्यले गोल्डकपको आयोजना गरिएको हो । गोल्डकपमा अनुमानित ३० लाखभन्दा बढी खर्च हुने अनुमान गरिएको छ । ‘फुटबलको व्यावसायिक खेलाडी उत्पादन तथा व्यवसायीकरणका लागि गोल्डकपको आयोजना गरिएको हो,’ अध्यक्ष राईले भने, ‘खेल र खेलाडीसँगँै गाउँपालिकाको पहिचान, सम्मान र गरिमा अभिवृद्धिमा पनि टेवा पुग्ने अपेक्षा राखेका छौँ ।’ 

गोल्डकपलाई सफल बनाउन खेल क्षेत्र, निकाय तथा खेलप्रेमी जनसमुदाय समक्ष सहयोगको अपिल गर्ने आयोजकले जनाएको छ । खेलकुदको माध्यमबाट खेलाडीको उपादनसँगै सामूहिक भावनाको विकास तथा पालिकाकाको धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्धन तथा प्रचार–प्रसारमा समेत टेवा पुग्ने समितिका सचिव अमित राईले बताए ।

फुटबल खेलको विकास र खेलाडीको क्षमता अभिवृद्धिका लागि पालिका स्तरीय खेलकुद विकास समिति एन्फामा दर्ता गर्ने प्रकृया पनि अगाडि बढाइने जानकारी दिइएको छ । पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष अरुणादेवी राई र उपाध्यक्ष खेमबहादुर खड्का लगायतको उपस्थिति रहेको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर