कर्णालीमा जगदुल्ला गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनमा प्रथम — OSNepal

कर्णालीमा जगदुल्ला गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनमा प्रथम

LC (KTM) February 17, 2023 0

स्थानीय सरकारहरुको कार्यसम्पादन मूल्याङ्कन नतिजाअनुसार कर्णालीमा डोल्पाको जगदुल्ला गाउँपालिकाका पहिलो बन्न सफल भएको छ ।राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश तथा स्थानीय तहका लागि निर्धारण गरिएका कार्यसम्पादन सूचकको मूल्याङ्कन गरी अङ्क प्रदान गरेको नतिजा यही फागुन ३ गते सार्वजनिक गरेको थियो । उक्त नतिजाअनुसार कर्र्णाली प्रदेशका ७९ स्थानीय तहमध्ये अति दुर्गम जिल्ला मानिने डोल्पाको जगदुल्ला गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनमा पहिलो बनेको हो ।

आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन कार्यविधि, २०७८ को दफा ७ को अधिन रही प्रदेश तथा स्थानीय तहको लागि निर्धारण गरिएका कार्यसम्पादन सूचकको मूल्याङ्कन अङ्क प्रदान गर्दछ । जसअनुसार वित्त आयोगले आर्थिक वर्ष २०८०÷८१ का लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने प्रयोजनका लागि कार्यसम्पादन सूचकाङ्कका आधारमा सबै तहका सरकारहरूको कार्यसम्पादन मूल्याङ्कन गरेको हो ।

कार्यसम्पादनका क्रममा गाउँ तथा नगरपालिकाले २०७९ असार १० गतेभित्र आर्थिक वर्ष २०७९÷८० को राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँ तथा नगरसभामा पेस गरेको देखी आयोगले तयार गरेको विद्युतीय अनलाइन पोर्टलमा कार्यसम्पादन सूचकसम्बन्धी विवरण तोकिएको अवधिमा प्रविष्टि गरेका १७ सूचकलाई आधार मानेर अङ्क प्रदान गरिएको छ ।

स्थानीय सरकारको कार्यसम्पादन गर्न १७ सूचक प्रयोग गरिएका छन् । प्रदेश सरकारको कार्यसम्पादनका लागि भने ११ सूचक रहेका छन् । वित्त आयोगले स्थानीय तहको कार्यसम्पादनका १७ सूचकलाई मूल्याङ्कन गर्दा डोल्पाको जगदुल्ला गाउँपालिकाले ७३.७२५२ अङ्क प्राप्त गरेको छ । कर्णालीमा उत्कृष्टता हासिल गरेको यो गाउँपालिकाले देशैभरिमा १२औँ स्थानमा छ ।

त्यस्तै कालीकोटको शुभकालिका गाउँपालिकाले ७३.१५२३ अङ्क ल्याएर दोस्रो भएको छ । दैलेखको भगवतीमाई गाउँपालिकाकाले ७२.७७९५ अङ्क प्राप्त गरी तेस्रो भएको छ । कार्यसम्पादन मूल्याङ्कनमा सल्यानको बागचौर नगरपालिका र दैलेखको भैरवी गाउँपालिका कमजोर देखिएका छन् । बागचौरले ३९.९६५ र भैरवी गाउँपालिकाले ३९.७०२४ अङ्क प्राप्त गरेका छन् ।

जगदुल्ला गाउँपालिकाका अध्यक्ष नारासिंह रोकायाले नीति र विधिमा रहेर काम गर्ने र त्यसमा जनप्रतिनिधि तथा कर्मचारी दुवैको संयोजन हुँदा अपेक्षाकृत प्रतिफल सजिलै आउने राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ इच्छाशक्तिका अगाडि दुर्गम र सुगमको कुनै भेद छैन किनकि सूचना र प्रविधिको उच्चतम विकासले विश्व आज एक गाउँ बनेको छ । काम गर्ने हो । यहाँ दूरी नाप्नुपर्ने त्यस्तो केही छैन ।”

हरेक पालिकाकाहरुको कार्यसम्पादन र जिम्मेवारीप्रतिको दृढताले सङ्घीयता कार्यान्वयनमा सहयोग पुग्ने अध्यक्ष रोकायले बताउनुभयो । यसका लागि उपलब्ध स्रोत साधनको भरपुर उपयोग गर्नुपर्ने उहाँको भनाइ छ । उहाँका अनुसार नागरिक अधिकार सुनिश्चितता र सहज तथा पहुँचयोग्य सेवा प्रवाहका लागि दैलोका सरकारहरु वफादार र प्रतिबद्ध भएर कर्मप्रति समर्पित हुनुपर्ने देखिन्छ ।

प्रशासनिक सङ्घीयता कार्यान्वयनमा दुर्गम भए पनि जगदुल्ला अब्बल देखिएको छ । यद्यपि उक्त गाउँपालिकामा तीन वर्षदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृत केशवराज जैसीले काम गर्दै आउनुभएको छ ।
“भौगोलिक विकटता कार्यसम्पादन र विकासको प्रधान बाधक होइन”, रासससँग कुरा गर्दै उहाँले भन्नुभयो, “हाम्रो प्रवृत्ति, सोच र कार्यशैलीमा सुधार ल्याउन सक्ने हो भने सङ्घीय व्यवस्था सबैका लागि उपयोगी र हितकर छ ।” यसका लागि सरकारी तथा राज्यका सबै सार्वजनिक निकायहरू उत्तरदायी, पारदर्शी र जवाफदेही हुनुपर्ने उहाँले बताउनुभयो ।

नागरिक अगुवा राजबहादुर महतले जगदुल्ला गाउँपालिकाको कार्यसम्पादनले सबै स्थानीय सरकारलाई सवक दिएको बताउनुभयो । “बिडम्बना ! हाम्रो नेपालमा कसले कति राम्रो नराम्रो काम ग¥यो भनेर कामका आधारलाई मूल्याङ्कन गरी पुरस्कृत र दण्ड गर्ने संस्कार छैन”, अगुवा महतले भन्नुभयो, “मूल्याङ्कन प्रणालीलाई कदर नगरिँदा राम्रो काम गर्नेलाई प्रोत्साहन र गलत गर्नेलाई सजाय हुन्छ भन्ने कुराको कुनै ख्याल हुँदैन ।” —

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर