झापा भद्रपुर गोल्डकप : मछिन्द्र क्लब विजयी — OSNepal

झापा भद्रपुर गोल्डकप : मछिन्द्र क्लब विजयी

LC (KTM) February 22, 2023 0

झापा- मेची रङ्गशालामा जारी मुस्ताङ–भद्रपुर–झापा गोल्डपकको आजको खेलमा मछिन्द्र क्लब विजयी भएको छ । मछिन्द्र विजयीसँगै सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइज युनाइटेडलाई २–१ ले हराउँदै मछिन्द्र अन्तिम चारमा प्रवेश गरेको हो । मछिन्द्रको जितका लागि कप्तान सुजल श्रेष्ठ र विमल घर्तीमगरले समान एक/एक गोल गर्नुभएको थियो ।

खेलमा सुरुआती अग्रता भने चर्च ब्वाइजले गरेको थियो । खेलको ५४औँ मिनेटमा चर्च ब्वाइजका कप्तान अनन्त तामाङले सुरुआती गोल गर्नुभयो । उहाँले गगनदीप सिंहको क्रसमा हेडमार्फत गोल गर्नुभएको थियो । यद्यपि खेलको अन्तिम १० मिनेटमा लयमा फर्किएको मछिन्द्रले लगातार गोल फर्कायो । खेलको ८१औँ मिनेटमा सुजल श्रेष्ठले लामो फ्रिकिकलाई सिधैँ गोलमा परिणत गर्दै मछिन्द्रलाई खेलमा फर्काउनुभयो ।

खेललाई बराबरीमा फर्काएपछि उत्साहित मछिन्द्रका खेलाडीले लगत्तै अर्को गोल थपे । खेलको ८६औँ मिनेटमा घर्तीमगरले हेडरमार्फत गोल गर्दै मछिन्द्रको जित सुनिश्चित गर्नुभयो । मछिन्द्रले फाइनल प्रवेशका लागि अब एपिएफ पुटबल क्लब र काउवार्न बजार प्रगति सङ्घ बङ्गलादेशबीचको विजेतासँग आइतबार खेल्ने आयोजक समितिका अध्यक्ष दीपेश ढकालले जानकारी दिनुभयो ।

बुधबारको खेलको प्लेयर अफ द म्याच मछिन्द्रका कप्तान सुजल श्रेष्ठ घोषित हुनुभयो । उहाँले नगद २० हजार पुरस्कार पाउनुभयो । आइतबारदेखि सुरु भएको प्रथम भद्रपुर झापा गोल्डकपमा तीन विदेशीसहित १० टिमको सहभागिता रहेको अध्यक्ष ढकालले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर